राष्ट्रपतिविरुद्ध परेका रिटमाथि सुनुवाइ हुँदै
अधिवक्ता सुनिलरञ्जन सिंह, सागर बराललगायतका पाँच जनाले छुट्टाछुट्टै रिट दायर गरेका हुन्।
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दायर भएका पाँच वटा रिटमा शुक्रबार सुनुवाइ हुँदै छ ।
उक्त रिट शुक्रबारका लागि पेसी तोकिएको थियो । विधेयकलाई प्रमाणीकरण गर्ने समय सीमाभित्र नेपालको संविधानको धारा ११३ को उपधारा ४ अनुसार प्रमाणीकरण नगरी नेपालको संविधानको धारा ११३ (४) को उल्लंघन गरेको रिटमा उल्लेख छ ।
अधिवक्ता सुनिलरञ्जन सिंह, सागर बराललगायतका पाँच जनाले छुट्टाछुट्टै रिट दायर गरेका हुन् ।
रिटमा राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्ने परमादेश माग गरिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए।
राष्ट्रपति भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित भएर दोस्रो पटक शीतलनिवास पुगेको नागरिकता विधेयकलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् ।
संविधानको धारा ११३ मा राष्ट्रपतिले संघीय संसद्बाट एक पटक पारित भएको विधेयक पुनर्विचार गर्न फिर्ता गर्न सक्ने व्यवस्था छ ।तर सोही धाराको उपधारा ४ मा संघीय संसद्ले पारित गरेर दोस्रो पटक पठाए राष्ट्रपतिले अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।राष्ट्रपति भण्डारीले संविधानको सोही धारा उल्लंघन गर्दै विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् ।







