राष्ट्रपति भण्डारीको कदमप्रति उपराष्ट्रपति पुनको विरोध
संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको उपराष्ट्रपति पुनको तर्क
काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञप्तिमार्फत असन्तुष्टि जनाएका छन् । उपराष्ट्रपति पुनले बुधबार विज्ञप्ति जारी गर्दै संविधानको पालना र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको स्मरण गराएका हुन् ।
उनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गरेका छन् । संविधानको प्रमुख पालक र संरक्षकबाट संविधानको पालन र संरक्षण हुन नसकेको भनी आवाज उठ्नु दुःखद भएको उनको भनाइ छ ।
‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो। संविधानबमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालना र संरक्षण हुनुपर्दछ’, उपराष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाटै संविधानको पालना र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थिति सिर्जना हुनु दुःखद हो।’







