निलम्बित प्रधानन्यायाधीश जबराको सरकारी निवासबाट हटाइयो सुरक्षाकर्मी
आइतबार सर्वोच्च अदालत फर्कने तयारी गरेका राणालाई प्रहरीले निवास बाहिर निस्कन दिएको थिएन।
काठमाडौं– सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बालुवाटारस्थित सरकारी निवास परिसरबाट सुरक्षाकर्मी हटाएको छ ।
आइतबार सर्वोच्च अदालत फर्कने तयारी गरेका राणालाई प्रहरीले निवास बाहिर निस्कन दिएको थिएन । बालुवाटारस्थित निवासमा आउजाउ गर्नेको प्रहरीले रेकर्ड राख्दै चेकजाँच गरेको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगले राणाको निवासमा प्रहरी तैनाथीबारे सरकारलाई ध्यानाकर्षण गराएको थियो । सरकारले आइतबार नै राणाको निवासबाट केही सुरक्षाकर्मी हटाएको थियो ।
१ फागुनमा महाभियोग दर्ता भएपछि निलम्बनमा रहेका राणाले प्रतिनिधिसभाको कार्यकाल सकिएकाले महाभियोग प्रस्ताव पनि निष्क्रिय भएको दाबी गर्दै आएका छन् ।
आइतबार छेकबारमा परेका राणा मंगलबार सर्वोच्च अदालत आउन सक्ने भन्दै अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।







