कांग्रेसले जनतासँग जान अंशबन्डा गरेको पूर्वराष्ट्रपति यादवको गुनासो
कांग्रेस पार्टीमा रहेर पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेकामा पूर्वराष्ट्रपति यादवको चिन्ता
काठमाडौं– पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबन्डा गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा भएको बीपी साहित्य सम्मान एवं बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कांग्रेसको अहिलेको अवस्था हेर्दा रामराम भन्नुसिवाय अरू नरहेको उनले उल्लेख गरे । बीपीका राजनीतिक चिन्तन अध्ययन गर्ने फुर्सद कुनै राजनीतिक कार्यकर्ता र नेतालाई नरहेको र टिकट किनेर पार्टी प्रवेश गर्ने क्रम बढेको उनको भनाइ छ ।
‘बीपीको जेल डायरी, बीपीको आत्मवृत्तान्त, बीपीले बोलेका राजनीतिबारेका विषय कांग्रेसीलाई पढ्न फुर्सद छैन । सोझै कांग्रेस छिर्छन् किनकि टिकट किन्नेलाई कांग्रेसी भनिएको छ’, उनले भने ।

पूर्वराष्ट्रपति यादवले चुनावका लागि कांग्रेसले पैसामा टिकट बेचिरहेकामा चिन्ता लागेको सुनाए । उनले भने, ‘तपाईंहरूले सुन्नुभएकै होला, समानुपातिकमा टिकट बिक्री भएको छ । पालिकाको टिकट बिक्री भएको छ । अहिले विधिबारे चर्चा गरिराख्नुपर्ने, आदर्शबारेमा कुरा गर्नै छाडिसके ।’
पूर्वराष्ट्रपति यादवले कांग्रेस पार्टीमा रहेर पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको बताए ।
उनले स्थानीय तह निर्वाचनमा वडा र पालिकामा टिकट बिक्री भएको दाबी गर्दै पार्टीमा विधि, आदर्श पालना र सम्मान हुन छाडेको सुनाए ।
कांग्रेसीको पुर्खा बिर्सिएर अहिले जनतासमक्ष जान अरू पार्टीसँग मिलेर अंशबन्डा गर्नु लज्जाको विषय भएको उनले बताए।







