गठबन्धनबाट कांग्रेसले १०० सिट नलिए पार्टीभित्र विग्रह : नेता शेखर कोइराला
सिट बाँडफाँट तलमाथि भए कांग्रेसमा आउन सक्ने संकटबारे पटक–पटक नेतृत्वलाई सम्झाएको कोइरालाको दाबी
काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी ४ मंसिरमा हुने संघीय चुनावमा गठबन्धनलाई मिलाउने नाममा १०० सिट नलिई जाँदा पार्टीभित्र कलह निम्तिन सक्ने बताएका छन् ।
बिहीबार नेपाल प्रेस युनियनले बीपी जन्मजयन्ती अवसरमा जनकपुरमा गरेको ‘बीपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता शेखरले भने, ‘यो गठबन्धन विचित्रको छ। एकातिर जननायक बीपीले दिनुभएको विचार र सिद्धान्त बोकेको कांग्रेस छ । अर्कातिर आफूलाई कम्युनिस्ट भन्नेहरू छन् । उनीहरूसित हाम्रो केही कुरा पनि मिल्दैन। विचार र सिद्धान्त नमिले पनि गठबन्धनमा गयौं ।’
डा. कोइरालाले संसद् पुनःस्थापनाको एजेन्डा सकिएपछि एमालेलाई हराउन र सरकार बनाउनकै लागि गठबन्धन बनेको दाबी गरे ।
‘गठबन्धनबारे कांग्रेसमा धेरै छलफल भएको छ । स्थानीय तह चुनावमा पनि गठबन्धन गरेकै हो । त्यसबेला स्थानीय आवश्यकताअनुसार गठबन्धन भएको थियो । तर अहिले केन्द्रले गठबन्धन गर्ने निर्णय गरेको छ ।’
गठबन्धन गरेर चुनावमा गएपछि पनि कांग्रेसले एकल बहुमत ल्याउन नसके पार्टीभित्र विग्रह हुने उनले सुनाए ।
‘सरकार बनाएर जान मात्रै गठबन्धन सोचेको भए त्यसले कांग्रेसलाई अप्ठेरोमा पार्छ। बहुमत बनाउन कांग्रेसले १०० सिट लिनैपर्छ,’ उनले भने ।
केता कोइरालाले माओवादी र समाजवादीहरू कांग्रेसलाई १०० सिट दिन तयार नभएको दाबी गरे ।
सिट बाँडफाँट तलमाथि भए कांग्रेसमा आउन सक्ने संकटबारे पटक–पटक नेतृत्वलाई सम्झाएको उनले सुनाए ।







