यादवले मागे जसपालाई ३२ सिट
न्यायोचित तवरमा सिट बाँडफाँट नगरिए गठबन्धनको अर्थ नहुने अध्यक्ष उपेन्द्र यादवको भनाइ
काठमाडौं–जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा न्यायोचित तवरमा सिट बाँडफाँट नगरिए गठबन्धनको अर्थ नहुने बताएका छन् ।
बिहीबार वीरगञ्जमा स्थापना भएको मधेस विश्वविद्यालयको कार्यालय भवन उद्घाटन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।उनले भने, ‘तालमेल गर्दा न्यायोचित हिस्सा र भागेदारी भएन भने गठबन्धनको कुनै अर्थ रहँदैन । सब दललाई वीन वीन हुने गरी अगाडि बढ्नुपर्छ । यसो गरे मात्र गठबन्धनको अर्थ हुन्छ ।’
गठबन्धनमा जसपाले ३२ सिट दाबी गरेको उनले बताए । ‘जसपाको दाबी ३२ सिटमा छ । समझदारी गर्दा कहाँ गएर टुंगिन्छ, त्यसलाई स्वीकारेर अघि बढ्छौं’, उनले भने ।
सिट बाँडफाँट कार्यदललाई प्रतिवेदन बुझाउन भनिएकाले प्रतिवेदन आएपछि नेताहरुसँग बसेर छलफल गरी बाँकी सिट बाँडफाँट टुंग्याइने उनको भनाइ छ ।







