इन्द्रजात्रालाई विश्वव्यापी बनाउने मेयर बालेनको घोषणा
इन्द्रजात्रा काठमाडौं उपत्यकामा मात्र सीमित रहेकाले यसलाई पूरै देशले अपनत्व गर्ने बनाउनुपर्ने मेयर बालेनको धारणा
काठमाडौं–काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले इन्द्रजात्रालाई विश्वव्यापी बनाइने घोषणा गरेका छन् ।इन्द्रजात्रा सुरु भएको दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा मेयर बालेनले विश्वव्यापी रूपमा इन्द्रजात्रालाई चिनाउन खोजेको र महानगरले त्यहीअनुसार अन्तर्राष्ट्रिय स्तरका नगरप्रमुखलाई बोलाएको बताए ।
इन्द्रजात्राका लागि व्यवस्थापन समितिबाट काम भइरहेको र सबै तयारी लगभग पूरा भएको उनले जानकारी दिए । मेयर बालेनले इन्द्रजात्रा काठमाडौं उपत्यकामा मात्र सीमित रहेकाले यसलाई पूरै देशले अपनत्व गर्ने बनाउनुपर्ने धारणा राखे ।
उपमेयर सुनिता डंगोलले देशकै महत्त्वपूण पर्वको रूपमा इन्द्रजात्रालाई लिइएको बताइन् । उनले आफूहरुले पदभार ग्रहण गरेको सय दिन पुगेको दिन इन्द्रध्वजा फरफराएर इन्द्रजात्रा सुरु हुनु सुखद संयोग भएको सुनाइन् । महिलाले जात्राको अन्तिम दिन रथ तान्ने र त्यसको नेतृत्व आफैंले गर्ने उनको भनाइ छ ।

पत्रकार सम्मलेनमा महानगर प्रवक्ता नवीन मानन्धरले काठमाडौं महानगरले इन्द्रजात्रा हेर्न विश्वका २५ नगरलाई निमन्त्रणा गरेको जानकारी दिए । उनले नगर प्रमुखलाई बोलाइए पनि सबै आउने÷नआउने भने टुंगो लागिनसकेको बताए ।
महानगरले भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एसियाली मुलुक (सार्क राष्ट्र) बाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरका प्रमुखलाई निमन्त्रणा गरेको छ ।







