१७ संस्थालाई कर बुझाउन महानगरको ताकेता
महानगरको राजस्व विभागले मंगलबार १७ वटा विभिन्न संस्थालाई पत्र लेख्दै कर बुझाउन १० दिनको समय दिएको हो।
काठमाडौं–काठमाडौं महानगरले १७ वटा विभिन्न संस्थालाई कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ । महानगरको राजस्व विभागले मंगलबार १७ वटा विभिन्न संस्थालाई पत्र लेख्दै कर बुझाउन १० दिनको समय दिएको हो ।
महानगरले पटक÷पटक ताकेता गर्दा पनि कर नबुझाएको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले बताए ।उनका अनुसार पत्र प्रप्त भएको १० दिनभित्र विवरणसहित सम्बन्धित वडा कार्यालयमा कर बुझाउन ताकेता गरिएको हो ।
महानगरले खाद्य संस्थान, थापाथली, ह्वाइट फिल स्कुल नयाँबजार, रञ्जना ट्रेड सेन्टर न्युरोड, साझा भण्डार भोटाहिटी, राष्ट्रिय नाचघर जमल, चेम्बर अफ कमर्स जमल, कर्मचारी सञ्चय कोष ठमेल, नेपाल विद्युत् प्राधिकरण रत्नपार्क र नेसनल ट्रेडिङ सिंहदरबारलाई पत्र काटेको हो ।
यस्तै, महानगरले नेपाली जामे मस्जिद बागबजार, कृषि सामग्री संस्थान टेकु, मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल स्वयम्भू, आरबी कम्प्लेक्स न्युरोड, काठमाडौं प्लाजा पुतलीसडक, नेपाल सेयर मार्केट पुतलीसडक, सिभिक हस्पिटल प्रालि र डेन्टल कलेज सामाखुसीलाई पनि पत्र लेखेको छ ।
यी संस्थाले कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुलिने जनाएको छ ।







