सिट बाँडफाँट झमेला अझै टुंगिएन
सिट बाँडफाँटबारे सहमतिनजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिट्टै शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाइने दाबी
काठमाडौं– सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको ११ सदस्यीय कार्यदल बैठकले मंगलबार बेलुकी सिट बाँडफाँटबारे सहमति गरेर प्रतिवेदन शीर्ष नेतालाई बुझाउने भनिए पनि अझै टुंगोमा पुगेको छैन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ करिब तीन घन्टा कार्यदलबीच छलफल भएको थियो । १६५ निर्वाचन क्षेत्र कहाँ को बलियो छ भन्ने मतसहित क्षेत्र, क्षेत्र गरी छलफल र विश्लेषण भएका थिए ।कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले केही विषय टुंग्याउन बाँकी रहेकोले बुधबार पनि छलफल गरिने बताए । उनका अनुसार बुधबार कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई दिने तयारी छ ।
सिट बाँडफाँटबारे सहमतिनजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिट्टै शीर्ष नेतृत्वलाई सो प्रतिवेदन बुझाइने उनको दाबी छ ।
दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत दृष्टिगत गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको उनको भनाइ छ । कार्यदलको बैठक बुधबार अपरान्ह ५ बजे बालुवाटारमा बस्ने बताइएको छ ।
कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उक्त कार्यदलको संयोजक छन् । कांग्रेसबाट महामन्त्री गगन थापा र मन्त्री कार्की, नेकपा माओवादी केन्द्रबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव वर्षमान पुन कार्यदल सदस्य छन् ।
नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव वेदुराम भुसाल, जसपाबाट नेता रामसहाय प्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट नेता हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा सदस्य छन् ।







