काठमाडौं महानगरले दुई दिनमै भत्कायो एक सय बढी अवैध संरचना
महानगरले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो
काठमाडौं– काठमाडौं महानगरले दुई दिनमै एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ । महानगरले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो ।महानगरले ६ भदौदेखि अवैध संरचना भत्काउन सुरु गरेको थियो ।
सोमबार नयाँ बसपार्कबाट गोंगबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० बढी अवैध संरचना भत्काइएको महानगरले बताएको छ । यसरी भत्काइएका संरचनाअन्तर्गत सडकपेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भ¥याङ रहेको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

आइतबार कोटेश्वर प्रहरी चौकी नजिकैको ५० बढी अवैध संरचना भत्काइएको थियो । महानगरले यसअघि बानेश्वरमा रहेको बानेश्वर कम्प्लेक्समा निर्माण भएका अवैध संरचना, काठमाडौं मलका अवैध संरचना, आरबी कम्प्लेक्सका करिब १४ साना पसल र बानेश्वरमा रहेको अल्लाबिटामा निर्माण विपरीत प्रयोग भएका संरचना भत्काइदिएको छ ।
केही दिनअघि सानो भ¥याङमा रहेको अवैध सात टहरा पनि भत्काइएको छ । त्यसैगरी वल्र्ड ट्रेड सेन्टरमा अनधिकृत रूपमा राखिएको विद्युतीय विज्ञापन पनि हटाइएको छ ।
नक्साअनुरुप निर्माण नभएको, नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएको र सार्वजनिक जग्गा मिचेर निर्माण भएका सबै संरचना अवैध ठहर गर्दै महानगरले आगामी दिनमा त्यस्ता सम्पूर्ण संरचना निरन्तर भत्काइने महानगरको भनाइ छ ।
हाल बेसमेन्ट र अन्डरग्राउन्ट पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको महानगरले जनाएको छ । ती सबैलाई कानुनी दायरामा ल्याइनेछ ।







