विश्वविद्यालयमा राजनीति नघुसाउन प्रधानमन्त्री देउवाको आग्रह
तालाबन्दीले विश्वविद्यालयको समस्या समाधान नहुने प्रधानमन्त्री देउवाको तर्क
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्याको समाधान खोजिनुपर्ने बताएका छन् ।
शुक्रबार ६९औं वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटन अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शैक्षिक विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
गुणस्तरीय शिक्षा समाजको विकासको महत्त्वपूर्ण हिस्सा भएकाले शंकरदेव क्याम्पसलाई खाली रहेको समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराइने प्रतिबद्धता जनाए ।
उनले विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेकाले तालाबन्दी र हडतालले विश्वविद्यालयका समस्या समाधान नहुने दाबी गरे ।
‘तालाबन्दी र हडतालले विश्वविद्यालयका समस्या समाधान हुँदैनन्। राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर समस्या पहिचान गर्न जरुरी छ,’ उनले भने ।







