महाभियोग निष्क्रिय भइसकेको निलम्बित प्रधानन्यायाधीश जबराको दाबी
प्रतिनिधिसभाद्वारा गठित महाअभियोग सिफारिस समितिलाई बुधबार सिंहदबारमा बयान दिने क्रममा जबराले महाभियोग संविधानतः स्वतः निष्क्रिय भइसकेको बताएका हुन्
काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गत १ फागुनमा सत्तारुढ दलहरुले लगाएको महाअभियोग संविधानतः निष्क्रिय भइसकेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाद्वारा गठित महाअभियोग सिफारिस समितिलाई बुधबार सिंहदबारमा बयान दिने क्रममा जबराले महाभियोग संविधानतः स्वतः निष्क्रिय भइसकेकाले अब त्यसको औचित्य नरहेको बताएका हुन् ।‘मविरुद्धको महाभियोग संविधानतः निष्क्रिय भइसकेको छ’, उनले समितिसमक्ष बयानका क्रममा भने, ’एउटा नागरिकका हिसाबले संसद्को सम्मान गर्न मात्रै म यहाँ उपस्थित भएको हुँ ।’

दीपक कार्कीलाई हतारमा प्रधानन्यायाधीश बनाउनकै लागि आफूलाई जबर्जस्ती हटाउन खोजिएको उनले बताए । ‘दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन मलाई जबर्जस्ती हटाइएको हो’, उनले भने, ‘तर म संविधानको सधैं पालना गर्छु । एउटा नागरिक भएकाले म संविधानभन्दा दायाँबायाँ जान्नँ ।’
जबराजसँग बन्दकोठाभित्र सिफारिस समितिले ४३ वटा प्रश्न सोधिरहेको छ । जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरिएको समितिले जनाएको छ ।
बुधबार समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई बयानका लागि बोलाएको थियो । उनी बिहान १० बजेर ५५ मिनेटमै आफूमाथि लागेको आरोपबारे बयान दिन सिंहदरबार पुगेका थिए ।१ फागुनमा सत्तारुढ दलका सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका छन् ।
महाभियोग सिफारिस समिति ११ सदस्यीय छन् । जसमा एमालेबाट विष्णु पौडेल, कृष्णभक्त पोखरेल, शिवमाया तुम्बाहाङ्फे र लालबाबु पण्डित छन् ।
कांग्रेसबाट समितिमा रामबहादुर विष्ट र मीनबहादुर विश्वकर्मा, माओवादी केन्द्रबाट रेखा शर्मा र यशोदा सुवेदी गुरुङ छन् । नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह तथा लोसपाबाट एकबाल मियाँ रहेका छन् ।







