ओलीसँग मिश्रको बालकोटमा भेटवार्ता
ओलीले दिए एक मुठ्ठी सिक्का उपहार
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। आइतबार साँझ बालकोट पुगेर ओलीसँग साढे २ घण्टा छलफल गरेको नेता मिश्रले जानकारी दिएका छन्।
भेटमा आसन्न निर्वाचन, देशको राजनीति, भूराजनीति, विदेशी चासो, हस्तक्षेप, राजसंस्थाको आवश्यकतालगायत विषयमा कुराकानी भएको मिश्रले उल्लेख गरेका छन्।भेटमा आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रुपैयाँको एक मुठ्ठी सिक्का ओलीले उपहार दिएको पनि मिश्रले सुनाएका छन् ।

मिश्रले लेखेका छन् ‘ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो। आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो।’
उनले सामाजिक सञ्जालमा लेखेका छन्,
ओलीजीसँग अढाई घण्टा!
“तपाईं धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ?” मैले सोधेँ। उहाँले भन्नुभयो, “म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु।”उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२/०१ नबजि सुत्नु हुन्न, उहाँको उर्जा र लगन अनौठो छ।ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो। आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो।सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।”अन्त्यमा, चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लेराएर उपहार दिनुभयो। भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ!








