नागरिकता विधेयक पुनर्विचार गर्न विधायन समितिमा पठाइयो
राष्ट्रिय सभाको आइतबार बसेको दोस्रो बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो
काठमाडौं–राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ ।राष्ट्रिय सभाको आइतबार बसेको दोस्रो बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।
गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको सो विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकमा पेस गरेका थिए ।राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।
आइतबारै बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराएका थिए ।
राष्ट्रपति कार्यालयबाट पुनर्विचारका लागि फिर्ता भएको सो विधेयक २ भदौमा बसेको प्रतिनिधिसभाको बैठकले हुबहु पारित गरेको थियो ।
राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव फुँयालले प्रतिनिधिसभाबाट उत्पत्ति भई सो सभाबाट पारित भएका बिमा विधेयक, २०७५, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरे ।
राष्ट्रिय सभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधिसभाले संशोधनसहित फिर्ता पठाएको छ ।
बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्ताव गरेको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
राष्ट्रिय सभाको अर्को बैठक १६ भदौमा बस्ने गरी बोलाइएको छ ।







