बालुवाटारमा बस्दै सत्ता गठबन्धन कार्यदलको बैठक
कार्यदलको बैठकमा आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटबारे छलफल हुने
काठमाडौं–आइतबार सत्ता गठबन्धन कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्दै छ ।कार्यदलको बैठकमा आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटबारे छलफल भइरहेको छ ।
कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेका छन् । १६५ निर्वाचन क्षेत्रमध्ये करिब ४० सिटमा कांग्रेसको एकल दाबी छ ।
यस्तै, माओवादीको एकल दाबी रहेका करिब १० सिट मात्र छन् । १६५ निर्वाचन क्षेत्रमध्ये करिब ६ सिटमा जसपाको र दुई सिटमा एकीकृत समाजवादीको एकल दाबी छ । तर राष्ट्रिय जनमोर्चाले दाबी गरेका दुई सिटमा भने गठबन्धनभित्र दोहोरो दाबी छ ।
जनमोर्चाले प्युठान र बागलुङ–१ मा दाबी गरेको छ । तर प्युठानमा नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमका लागि माओवादीले कार्यदलमा दाबेदारी राखेको छ भने बाग्लुङ–१ मा कांग्रेसले दाबी गरेको छ ।
३३० प्रदेशसभा निर्वाचन क्षेत्रको भागबन्डाबारे पनि कार्यदल बैठकमा गत शुक्रबारबाट छलफल सुरु भएको छ । २०७४ को आमनिर्वाचनमा दलहरूले पाएको समानुपातिक मत र २०७९ को स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार मानेर कार्यदलले प्रतिवेदन तयार गर्न लागेको छ ।







