एमालेको पक्षमा जनमत आउने गरी निर्वाचनमा होमिन ओलीको निर्देशन
काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी संघ र प्रदेशसभा निर्वाचनमा जनमत एमालेकै पक्षमा आउने गरी काम गर्न नेता÷कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शुक्रबार एमाले मुख्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा जनमत एमालको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिएका हुन् ।उनले जनतालाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता, कार्यकर्ताको काँधमा रहेको सुनाए ।
अध्यक्ष ओलीले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन प्रभावकारी भूमिका खेल्न पनि आग्रह गरे । निष्पक्ष निर्वाचन गराउन सरकारलाई दबाब दिनुपर्ने बताउँदै उनले सम्बन्धित निकायलाई बेठीक काम गर्न रोक्नुपर्ने उल्लेख गरे ।‘आउँदो निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा, भयरहित परिस्थितिमा, भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेछ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउन एमालेमा आबद्ध नेता÷कार्यकर्ताले प्रभावकारी भूमिका खेल्नुपर्दछ’, उनले भने, ’यसका निम्ति सरकारसँग वार्ता, कुराकानी र दबाब र राज्यका निर्वाचनसँग सम्बन्धित विभिन्न अंग र निकायसँग संवाद गर्नुपर्दछ ।’
एमालेको पक्षमा, देशको पक्षमा, लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने, जनमतलाई कसैले गलत ढंगले दुष्प्रभावित गर्लान्, त्यसका निम्ति ध्यान दिन उनले आग्रह गरे ।
शुक्रबार नै केन्द्रीय कमिटी बैठकमा नवनिर्वाचित केन्द्रिय कमिटी सदस्यले शपथ लिएका छन् । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने, सचिवालयका निर्णय अनुमोदन गर्ने, उम्मेदवारको छनोटको मापदण्ड तय गर्ने कार्यसूची छ ।स्थानीय तह निर्वाचन छानबिन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र पार्टीका आयोगका प्रतिवेदन पेस गर्नेलगायतका कार्यसूची रहेको एमालेले बताएको छ ।







