निर्वाचन आचारसंहिता तयार हुँदै
काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता निर्माण प्रक्रिया थालेको छ । आगामी ४ मंसिरका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आचारसंहिता निर्माण प्रक्रिया सुरु भएको आयोगले बताएको हो ।
यसका लागि सोमबार राजनीतिक दलहरूसँग छलफल कार्यक्रम राखिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । आइतबार निर्वाचनमा रिपोर्टिङ गर्ने पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गत स्थानीय तहको निर्वाचनको आचारसंहिता कार्यान्वयनको अवस्थाको मूल्यांकन गर्दै दलहरूको सुझावको आधारमा संहिता जारी गरिने जानकारी दिए ।
गत निर्वाचनमा आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पत्रकारितासँग सम्बन्धित संस्थाका व्यक्तिले ‘आयोगको छुट्टै संहिता मान्दिनँ’ भनेकोप्रति आश्चर्य लागेको उनको भनाइ छ ।थपलियाले भने, ‘आमसञ्चार माध्यमले आचारसंहिता पालना गरे आयोगले स्पष्टीकरण सोध्नेका लागि कागज खर्च गर्नु नपर्ने थियो । जुन मिडियाले आचारसंहिता पालना गर्नुपर्छ भनेर लेख्थ्यो, उसैले बढी आचारसंहिता उल्लंघन गरेको पनि पाइयो । आचारसंहिता पालना गर्न र गराउन सञ्चार माध्यमको ठूलो भूमिका हुन्छ ।’







