फोहोर बोकेका गाडीलाई बञ्चरेडाँडा पुग्न सहज
काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर बोकेका गाडी शुक्रबारबाट सहज रूपमा बञ्चरेडाँडा पुग्न थालेका छन् ।स्थानीयले अवरोध हटाएसँगै शुक्रबारबाट नियमित रूपमा फोहोर बोकेका गाडी ल्यान्डफिल साइट बञ्चरेडाँडामा पुग्न थालेका हुन् । शुक्रबार बिहान फोहोर बोकेर गएका गाडीमा कुनै अवरोध नभएको काठमाडौं महानगरले जनाएको छ ।
काठमाडौं महानगर, स्थानीयसहित सरोकारवाला निकायबीच भएको सहमतिपछि नियमित रूपमा फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुग्न थालेका हुन् ।काठमाडौंका मेयर बालेन्द्र साहका अनुसार सहमतिपछि बिहीबार २८४ गाडी बञ्चरेडाँडा पुगेका थिए । योसँगै महिनौंदेखि काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापन हुनेछ ।एक सातायता बञ्चरेडाँडा क्षेत्रमा स्थानीयले फोहोर ओसार्न अवरोध गर्दै आएका थिए । त्यस क्रममा प्रहरीले बलसमेत प्रयोग गर्नुपरेको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित र महानगरसमेतले स्थानीय दलका नेता, कार्यकर्ता र सरोकारवालासँग वार्तापछि बञ्चरेडाँडामा फोहोर लैजान सहज बनेको हो ।‘हामीसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रक छन् । टिपर, ट्रकजस्ता ठूला मेसिनरीका व्यवसायीको सहयोगले मात्रै छोटो समयमा धेरैभन्दा धेरै फोहोर उठाउन सकिन्छ । हाम्रो आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्ने समानान्तर (निःशुल्क ३० वटा), नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (इन्धन महानगरले भर्ने गरी १८ वटा), नेपाल टिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगीलगायत सम्बद्ध सबैप्रति आभारी छौं,’ मेयर साहले भनेका छन् ।







