बालेन र हर्कको जित माओवादीलाई सबक:प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र उम्मेदवार बालेन शाह र हर्क साम्पाङलाई जिताएर मतदाताले आफूहरूलाई सबक सिकाएको बताएका छन्।
बुधबार काठमाडौंको कमलपोखरीस्थित कुमारीहलमा माओवादीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा प्रचण्डले उक्त कुरा बताएका हुन्।पार्टीका स्थानीय जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले काठमाडौं महानगर र धरान उपमहानगरको मेयरमा जितेका उम्मेदवारले माओवादीले जस्तै धारा, पानी, फोहोरको मुद्दा उठाएर जितेको बताए ।

‘माओवादीले जनताको सेवा गर्ने, धारा, पानी फोहोर मैला व्यवस्थापन, शोषण, विभेद अन्याय अत्याचार सिध्याउँछौं भनेर हामी भनेको होइन?,’ उनले भने।
उनले अघि भने, ‘हामीले राम्रासँग काम गरेको नदेखेपछि जनताले हामीलाई सबक सिकाएको जस्तो लाग्छ ।’
काठमाडौं महानगरपालिकाको मेयरमा शाह र धरान उपमहानगरपालिकाको मेयरमा साम्पाङ निर्वाचित भएका थिए।








