बालुवाटार हिँडेका खनाल-नेपाल पक्षका सांसद फिर्ता
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा राखेको संसदीय दलको बैठकमा भाग लिन जाँदै गरेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका केही सांसद बाटोबाटै फर्केका छन्।
यसअघि माधव–झलनाथ पक्षका सांसदहरुको बैठकले बालुवाटार बैठकमा हाजिर गरेर फर्कने निर्णय गरेको थियो । सांसद कृष्णभक्त पोखरेलले उक्त बैठकमा हाजिर लगाएर बहिस्कार गरिने जानकारी दिएका थिए । हेरिटेज गार्डेनमा फर्किएर उनीहरुले शीर्ष नेतासँग छलफलमा बसेका छन् ।
ओलीले बोलाएको छलफलमा जाने वा नजाने भन्नेबारे छलफल गर्न विहान १० बजे छलफल राखिएको थियो । १५ मिनेट मात्रै छलफलको सूचना गरिएकाले अधिकांश सांसदहरु हेरिटेज गार्डेन पुगेकै थिएनन् ।स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, बेदुराम भुसाललगायत नेताहरुसहित थोरै सांसदहरुबीच भएको छलफलपछि स्थायी कमिटी बाहेकका सांसद बालुवाटार जाने निर्णय लिइएको थियो ।







