एमाले र माओवादी केन्द्रको गठजोड खारेज, कट्टेललाई नेकपाको मान्यता
सर्वाेच्च अदालतले नेकपाको वैधानिकता ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गर्दै बनेको नेकपा खारेज भएको हो ।
घोषणा खारेज भएसँगै नेकपाभित्रको विवाद झनै दलदलमा फसेको छ । नेकपाको प्रधानमन्त्री ओली समूह र अर्को प्रचण्ड–नेपाल समूहले एकअर्कालाई कारबाही गरिसकेका छन् । ओली समूहतिर तत्कालीन माओवादीका नेता लागेका छन् भने प्रचण्ड–नेपालतिर पनि नेकपा एमालेका सांसदहरु छन् ।
दुई गुटको विवादका बीच आइतबार बोलाइएको संसद् अधिवेशन पनि छायामा परेको छ । प्रधानमन्त्री ओलीलाई नेकपाको प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्नै लागेका बेला सर्वोच्चले आदेश दिएपछि कानुनी रुपमा झनै झमेला देखिएको छ ।
पार्टी विवादमा सर्वोच्च अदालतमा परेको मुद्दाको फैसलाले ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेसँगै अब उनीहरु पूर्ववत् अवस्थामै फर्किने वा पुनः प्रक्रिया पु¥याएर पार्टी एकता गर्ने विकल्प रोज्न बाध्य भएका छन् ।
०७४ मा भएको निर्वाचनमा चुनावी गठबन्धन गरेर यी दुई दलले प्रतिनिधिसभामा १७४ सिट जितेका थिए । यसमा पूर्व एमालेले प्रत्यक्षतर्फ ८० सिट जितेको थियो भने समानुपातिकतर्फ ४१ सिट जितेको थियो । पूर्वएमालेको सिट संख्या अब १२१ कायम हुनेछ भने नेकपा माओवादी केन्द्रको प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिट जितेकाले जम्मा ५३ सिट हुने देखिन्छ ।
अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको छ ।
ऋषि कट्टेलले आफ्नो पार्टीको नाम प्रचण्ड र केपी ओली नेतृत्वको पार्टीलाई दिएको भन्दै सर्वोच्च अदालतमा हालेको मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले सो नाम कट्टेललाई नै दिएको छ भने ओली र प्रचण्ड नेतृत्वमा रहेको नेकपा खारेज गरेको छ ।
‘नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही दर्ता भैसकेको पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गरेको विपक्षीमध्येका निर्वाचन आयोगको मिति ०७५ को निर्णय र निर्णयलाई सदर गर्ने गरी भएको सोही वर्षको निर्णय फैसला राजनीतिक दलसम्बन्धी ऐन,२०७३ अनुसार राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ९ मा भएको कानूनी व्यवस्था विपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ ।
फैसलामा भनिएको छ– निर्वाचन आयोगका यी दुवै निर्णय बदर भएपछि साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने हुँदा अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानुनबमोजिम आवश्यक निर्णय गर्ने गराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ ।







