निर्वाचन आयोग पुगेर बोले ओली : हामी नै वैध नेकपा हौं
घरझगडाले दुई चिरा परेको नेकपाभित्र प्रधानमन्त्री केपी ओली समूह र पुष्पकमल दाहाल–माधव नेपाल समूहले आप्mनै पार्टी वैधानिक भएको बताउँदै आएका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई सुाधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ भने ओली समूहको नेकपाले पनि प्रचण्ड–माधव खेमाका नेतालाई कारबाही गरिरहेको छ ।
को वैधानिक, को अवैधानिक भन्ने विषय निर्वाचन आयोगमा पुगिसकेको छ । मंगलबार निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको नेकपा नै आधिकारिक भएको दाबी ठोकेका छन् ।
निर्वाचनको तयारी बुझ्न आयोग पुगेका प्रधानमन्त्री ओलीले विगतको आफ्नो पृष्ठभूमि बताउँदै आधिकारिकताको दाबी गरेका हुन् ।
उनले २०७६ मंसिरमा भएको उपनिर्वाचन र माघमा राष्ट्रिय सभाको निर्वाचनमा आफ्नै हस्ताक्षर पठाएको प्रसंग सुनाउँदै आफूबाहेक कोही आधिकारिक हुन नसक्ने दाबी गरेको स्रोतले बतायो ।
‘प्रधानमन्त्री निर्वाचनको तयारीबारे बुझ्न र समयमै निर्वाचन गराउन सरकारको प्रतिबद्धता दर्शाउन आयोग जानुभएको हो । त्यही बेला नेकपाको आधिकारिकताबारे बोल्नुभएको हो,’ प्रधानमन्त्री र आयोगका पदाधिकारीको छलफलका एक सहभागीले भने, ’दुई पार्टीको एकता भएपछि म प्रथम अध्यक्ष हो । मेरै हस्ताक्षरमा पार्टीका निर्णय लागू भएका छन् । मैले आजसम्म सूर्य चिह्नमै चुनाव लडेकोसमेत भन्नुभयो ।’
अध्यक्षको निर्देशनमा महासचिवले बोलाएको बैठकबाहेक अरू आधिकारिक नहुनेसमेत उनले दाबी गरे ।
प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, ओली नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्बाङ, कानुनमन्त्री लीलानाथ श्रेष्ठलगायत नेताहरू आयोग गएका थिए ।
निर्वाचन आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र अन्य आयुक्त सहभागी थिए ।
५ पुसमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी आउँदो १७ र २७ वैशाखका लागि निर्वाचनको मिति घोषणा गरेका छन् ।
प्रतिनिधिसभा विघटन गरेसँगै बहुमत केन्द्रीय सदस्यहरूको बैठकले ओलीलाई पार्टीबाट निष्कासन गरेको छ ।
ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाल प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको अध्यक्ष बनेका छन् । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा २ सय ७७ जना प्रचण्ड–नेपाल समूहमा छन् । आयोगले कुनै पनि नेकपालाई आधिकारिकता नदिए पनि ४ सय ४१ जनाको केन्द्रीय कमिटीलाई भने आधिकारिकता दिएको छ ।
गत २० माघमा प्रचण्ड–नेपाल समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेखेको थियो ।







