नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँट : ४ लाख ९२ हजार ७२ जनाले पाए ६० कित्ता सेयर
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १० बजे भएको बाँडफाँटमा १० देखि ५० कित्तासम्म माग गर्ने सबैले सेयर पाएका छन् । बढीमा ६० कित्तासम्म सेयर बाँडफाँट गरिएकामा ४ लाख ९२ हजार ७२ जनाले ६० कित्तासम्म शेयर पाएका हुन् ।
बिक्री प्रबन्धकका अनुसार १० देखि ५० कित्तासम्म माग गर्ने सबै आवेदकलाई मागबमोजिम सेयर बाँडफाँट गर्दा १ करोड १२ लाख १९ हजार ८० कित्ता बाँडफाँट भएको छ । त्यस्तै, ६० कित्तादेखि २ लाखसम्म माग गर्ने सम्पूर्ण आवेदकहरूमा ५० कित्ताका दरले ५ करोड ९७ लाख २०० कित्ता शेयर बाँडफाँट गरिएको छ ।
यसरी बाँडफाँटपछि बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर ६० देखि २ लाख कित्तासम्म माग गर्ने सम्पूर्ण आवेदकलाई एउटै समूहमा राखी थप दस कित्ताका दरले ४ लाख ९२ हजार ७२ जनालाई शेयर बाँडफाँट गरिएको छ ।
यस आईपीओमा १४ लाख ८१ हजार २८४ जनाले १६ करोड ७८ लाख ५ हजार ४४० कित्ताका लागि आवेदन दिएका थिए ।
कुल आवेदकमध्ये ६ हजार २७६ जनाले ५ लाख ९५ हजार ४४० कित्ताका लागि दिएको आवेदन रीतपूर्वक नभएको भन्दै रद्ध गरिएको छ । योग्य आवेदक १४ लाख ७५ हजार ८ जनाले १६ करोड ७२ लाख ४० हजारका लागि आवेदन दिएको बिक्री प्रबन्धकको भनाइ छ ।
कम्पनीले माघ २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो । कम्पनीले रु. ८ अर्ब बराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो ।
कुल कित्तामध्ये ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।
अधिकत पुँजी रु. ४० अर्ब र जारी पुँजी रु. २० अर्ब रहेको बैंकको हाल चुक्ता पुँजी रु. १२ अर्ब रहेको छ । आईपीओपछि कम्पनीको जारी पुँजी बराबरको रकम कायम भएको छ । यस कम्पनीले धितोपत्र बजारको इतिहासमै सबैभन्दा बढी कित्ता सेयर सर्वसाधारणमा जारी गरेको हो ।







