ओली कदमविरुद्ध कांग्रेसको थप आन्दोलन
प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध थप आन्दोलन गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए ।
कांग्रेसले १९ माघमा देशैभर भ्रातृ संस्थाको नेतृत्वमा सरकारविरुद्ध प्रदर्शन गर्नेछ । २४ माघमा शुभेच्छुक संस्थाहरूको नेतृत्वमा देशैभर प्रदर्शन गर्ने निर्णय कांग्रेसले गरेको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार ३ फागुनमा जिल्ला कार्यसमितिको नेतृत्वमा आ–आफ्नो जिल्लामा प्रदर्शन हुनेछ । मंगलबारको बैठकले महाधिवेशनका लागि माघ मसान्तभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण टुंग्याउन पनि निर्देशन दिइएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तह र गाउँ–नगरका वडामा प्रदर्शन गरेको थियो । कांग्रेसले म्याद सकिएका भ्रातृ संस्थाहरूको म्याद थप्ने निर्णय गरेको छ ।
भ्रातृ संस्थाहरूको म्याद थप ६ महिना थप्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए । नेविसंघ, तरुण दललगायत कांग्रेसका भ्रातृ संस्थाको समयमै अधिवेशन भएको छैन ।







