नागरिक स्टक डिलरलाई धितोपत्र कारोबार अनुमति
नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारीको काम गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । नागरिक लगानी कोषको सहायक कम्पनीको रूपमा रहेको यस कम्पनीलाई बोर्डले पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न धितोपत्र व्यापारीको रूपमा अनुमति दिएको हो ।
बोर्डका अनुसार फागुन १ गतेदेखि स्टक डिलरले पुँजी बजारमा व्यापार सुरु गर्न सक्नेछ । यसअघि बोर्डले नागरिक लगानी कोषजस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्रको व्यापारीको काम गर्न सक्ने व्यवस्था समेटी फागुनदेखि लागू हुने गरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ संशोधन गरेको थियो ।
उक्त व्यवस्थाबमोजिम आवश्यक प्रक्रिया पूरा गरेपछि बोर्डले स्टक डिलर कम्पनीलाई धितोपत्र व्यापारीको काम गर्न अनुमति दिएको बताएको छ ।
यस वर्षको बजेट वक्तव्यमा समेत पुँजी बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न स्टक डिलरको कार्य सञ्चालमा ल्याउने व्यवस्था उल्लेख भएबमोजिम बोर्डले प्राथमिकताका साथ स्टक डिलरलाई बजारमा भित्र्याउन लागेको हो ।
नेपालको शेयर बजारमा हाल स–साना लगानीकर्ताको बाहुल्य रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको सन्दर्भमा नागरिक स्टक डिलर कम्पनीको प्रवेशसँगै पुँजी बजारमा गतिशीलता आउने विश्वास बोर्डले गरेको छ ।
धितोपत्र बजारसँग यसअघि पनि नागरिक लगानी कोषको प्रत्यक्ष सम्बन्ध रहेको थियो । कोषले बजारमा लगानी गर्नुका साथै प्राथमिक बजारमा सार्वजनिक निष्कासनका धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा पनि काम गरिरहेको थियो भने शेयर प्रत्याभूतिकर्ताको रूपमा पनि भूमिका वहन गरिरहेको थियो ।
धितोपत्र दोस्रो बजारमा व्यापारीकै रूपमा काम गर्ने उद्देश्यअनुरूप कोषले गत वर्षको माघमै सहायक कम्पनीको रूपमा नागरिक स्टक डिलर कम्पनीको स्थापना गरेको हो । यस कम्पनीमा नागरिक लगानी कोषसँगै नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनीको समेत शेयर स्वामित्व रहेको छ ।
रु. ५ अर्ब पुँजीको यो कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल दूरसञ्चार कम्पनीको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व रहने गरी आगामी दिनमा शेयर जारी गर्ने योजना पनि कम्पनीको छ ।
आगामी दुई वर्षभित्र सर्वसाधारणमा पनि शेयर जारी गर्ने योजना कम्पनीको रहेको छ । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा ७ देखि ८ अर्ब रुपैयाँसम्म कारोबार हुने गरेको छ ।
रु. ३२ खर्ब ८९ अर्ब ९५ करोड ७० लाख ३५ हजार कुल बजार पुँजीकरण भएको बजारमा रु. ५ अर्ब पुँजी रहेको नागरिक स्टक डिलर कम्पनीले बजारलाई सन्तुलनमा राख्न भने असम्भव रहेको जानकार बताउँछन् । यद्यपि बजारमा स्टक डिलर कम्पनीले प्रवेश पाएको छ ।
बजारलाई सन्तुलनमा राख्न केही हदसम्म सहयोग पुग्ने नागरिक स्टक डिलरलाई साथ दिने अन्य कम्पनीहरू भित्रिनेमा पनि सर्वसाधारण आशावादी रहेका छन् । यसअघि पनि स्टक डिलरको भूमिका निर्वाह गर्न सक्ने जिम्मेवारी पाएका सामूहिक लगानी कोषहरूले बजारको आकारअनुसार आफ्नो पुँजी पर्याप्त नभएकाले उक्त जिम्मेवारी पूरा गर्न नसकेको बताउँदै आएका थिए । नागरिक स्टक डिलरलाई पनि अहिलेको बजारमा यो पुँजीले सन्तुलन कायम गराउन मुस्किल देखिन्छ ।







