प्रधानमन्त्री ओलीलाई तीनदिने स्पष्टीकरण
नेकपाको माधवकुमार नेपाल–पुष्पकमल दाहाल समूहले प्रधानमन्त्री केपी ओलीलाई तीनदिने स्पष्टीकरणसहितको पत्र बालुवाटार गेटमा लगेर बुझाएको छ ।
प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित नेकपामा कारबाहीको शृंखला जारी छ । स्पष्टीकरण पत्र लिएर प्रचण्ड–नेपाल समूहको नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र कार्यालय सचिव श्रीराम ढकाल सोमबार बालुवाटार पुगेका थिए ।
पाण्डे र ढकालले स्पष्टीकरण पत्र बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा बुझाएका थिए ।
‘बालुवाटारको गेटमा बस्ने सुरक्षाकर्मीले भित्र खबर गरेका थिए । भित्रबाट पत्र बुझ्नू भनेपछि हाम्रो पत्र उनीहरूले बुझेका हुन्,’ ढकालले भने, ‘भित्रबाट नभनेको भए उनीहरुले नबुझ्ने रहेछन् । हामी पत्र बुझाएर गेटबाटै फर्कियौँ ।’
पत्रमा ओलीलाई कारबाही गर्नुको कारणबारे सोधिएको ढकालले जानकारी दिए । तीन दिनभित्र चित्तबुझ्दो जवाफ नआए साधारण सदस्यसमेत नरहने गरी प्रधानमन्त्रीलाई कारबाही हुने उनले जानकारी दिए ।
गत शुक्रबार बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । दुई टुक्रा हुनुअघि नेकपा अध्यक्ष ओली नै थिए । नेपाल–प्रचण्ड ओली समूहबाट चोइटिएपछि कसले पार्टी र सूर्य चिह्न कब्जा गर्ने भन्ने लडाइँ दुवै समूहमा यतिबेला छ ।







