डिम्याट खाताको संख्या २५ लाख नाघ्यो
डिम्याट खाताको संख्या २५ लाख ३४५ पुगेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले दिएको जानकारीअनुसार माघ २ गतेसम्म उक्त संख्यामा डिम्याट खाता खोलिएको हो ।
पछिल्लो समय डिम्याट खाताको संख्या सातामा १ लाखले बढेको छ । पुस २१ गतेसम्म २३ लाख ७५ हजार ४०८ रहेको यो संख्या सातामा १ लाख २४ हजार ९३७ ले बढेको हो ।
धितोपत्र कारोबारमा अनिवार्य बनेको डिम्याट खाता विशेषगरी प्राथमिक बजारका लागि खुलेको पाइन्छ । धितोपत्र दोस्रो बजारमा ४ लाखभन्दा बढी मात्र लगानीकर्ता सहभागी रहेकामा प्राथमिक बजारमा करिब १३ लाख लगानीकर्ता सहभागी भएको तथ्यांक छ । पछिल्लो समय चन्द्रागिरि हिल्सको आईपीओमा करिब १३ लाख लगानीकर्ताहरूले आवेदन दिएका थिए ।
भाग्य चिठ्ठाको भरमा आईपीओ पर्ने अहिलेको प्राथमिक बजारमा सबैको भाग पुग्ने गरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आईपीओ बिक्री खुला गरेको छ । यस कम्पनीको आईपीओमा यसअघिको रकर्डलाई पनि ब्रेक गर्ने गरी आवेदन पर्ने अनुमान बिक्री प्रबन्धकले गरेको छ ।
बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आवेदकहरूको सुविधाका लागि माघ ३ गते पनि कार्यालय खुला गरेर डिम्याट खोल्ने र मेरो शेयर नवीकरण गर्ने कार्यलाई निरन्तरता दिएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चरको आईपीओकै कारण पनि पछिल्लो समय डिम्याटको संख्यामा उल्लेख्य वृद्धि भएको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले बताएको छ । पहिलो दिनमै करिब ३ लाख आवेदकले आवेदन दिएको नेपाल इन्फ्रास्ट्रक्चरको आईपीओमा १३ लाखभन्दा बढीको आवेदन पर्ने अनुमान गरिएको छ ।
प्रविधिमैत्री बनिसकेको प्राथमिक बजारमा हाल आवेदन दिन निकै सहज भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले पनि १३ लाख आवेदनलाई सहजै स्वीकार गर्ने गरी मेरो शेयर सफ्टवेयरलाई थप प्रभावकारी बनाइसकेको छ ।
केही समयअघि ३ लाख आवेदन पनि सहज तरिकाले स्वीकार नगरेको सीडीएससीको मेरो शेयर सफ्टवेयरको क्षमता पछिल्लो समय प्रभावकारी सावित भएको छ । आम लगानीकर्ताको सहजताका लागि सीडीएससीले मेरो शेयर मोबाइल एपसमेत सञ्चालनमा ल्याएको छ ।
धितोपत्र बजारलाई प्रविधिमैत्री बनाउन सीडीएससीले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।







