प्रदेश १ मा नेता नेपाल–प्रचण्ड समूहका १५ सांसद निलम्बित
नेकपामा प्रधानमन्त्री केपी ओली समूह र नेता माधव नेपाल–पुष्पकमल दाहाल समूहबीच एकले अर्कालाई कारबाही गर्ने क्रम बढेको छ ।
बिहीबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई कारबाही गरेका छन् ।
प्रधानमन्त्री ओली समूहको नेकपाका नेतासमेत रहेका राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिई मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन् ।
नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीका अनुसार मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पष्टीकरण सोधिएकामा १५ जनालाई निलम्बन गरिएको हो ।
निलम्बन पर्नेमा प्रदेश सांसद भीमप्रसाद आचार्य, जीवन घिमिरे, इन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लीलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई, यशोधा अधिकारी, लछुमन तिवारी, मोहनकुमार खड्का, कुलप्रसाद साम्बा, धीरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन् ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने चार सांसद तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकबहादुर मगर र रामकुमार राईले मौखिक जवाफ दिएपछि कारबाही नगरेको उनले जानकारी दिए ।
आफूविरूद्ध अविश्वासको प्रस्ताव ल्याउन सांसदलाई हस्ताक्षर गराएको भन्दै गत शनिबार मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोलाई पदबाट बर्खास्त गरेका थिए । त्यसको भोलिपल्ट दाहाल–नेपाल समूहका तीन मन्त्रीले पदबाट राजीनामा दिएका थिए ।
सोही दिन प्रदेशसभा सचिवालयमा ३७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
दाहाल–नेपाल पक्षले संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएर भीम आचार्यलाई नेता बनाएको छ ।
बिहीबार बसेको दाहाल–नेपाल पक्षीय बहुमत सांसदको बैठकले राईलाई दलको नेताबाट हटाउँदै आचार्यलाई नेता चनेर मुख्यमन्त्रीमा प्रस्तावसमेत गरेको छ ।







