बोले पूर्वराष्ट्रपति डा. यादव प्रतिनिधिसभा विघटन असंवैधानिक कदम
पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमले देश अनिश्चियको भूमरीमा फँसेको बताएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवस अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दूरगामी असर पार्ने दाबी गरे ।
उनले असंवैधानिक कदमलाई सच्याउन सबै देशबासीको जिम्मेवारी रहेको पनि बताए । पूर्वराष्ट्रपति यादवले अदालत नेपाली जनताको आशा र भरोसाको संस्था भएकाले न्याय हुनेमा सबै लोकतन्त्रवादी र आफू पनि आशावादी रहेको जिकिर गरे ।
यादवले ०३३ मा विपी कोइराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण देशमा प्रजातन्त्र, राष्ट्रियता र शान्तिको निम्ति मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताए ।
भू–राजनीतिक, समसामयिक अवस्थालाई चिन्तन गरी स्वस्थ विदेश नीति नल्याए राष्ट्रको जर्गेना गर्न अप्ठ्यारो पर्ने पनि उनको भनाइ छ ।
पूर्वराष्ट्रपति यादवले राष्ट्र र राष्ट्रियताको दूरगामी प्रभावलाई विचार नगरी प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रलाई आघात पारिएको दाबी गरे । राष्ट्रिय शक्ति मिलेर सबै समस्याको समाधान खोज्न बीपीको मिलमिलाप नीति अझै आवश्यक रहेको पूर्वराष्ट्रपति यादवको कथन छ ।







