हालसम्मकै धेरै कित्ता आईपीओ बिक्री गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो अनुमति, सबै आवेदकले शेयर पाउने
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सर्वसाधारणलाई आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले रु. ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ बिक्री गर्न पुस १० गते बोर्डबाट अनुमति पाएको हो ।
बैंकले उक्त आईपीओ बिक्रीको अनुमति माग्दै मंसिर ८ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीले धितोपत्र बजारमा हालसम्मकै धेरै कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।
अधिकत पुँजी रु. ४० अर्ब र जारी पुँजी रु. २० अर्ब रहेको बैंकको हाल चुक्ता पुँजी रु. १२ अर्ब रहेको छ । संस्थापकतर्फ कम्पनीमा हाल ६० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।
कम्पनीले सर्वसाधारणमा जारी पुँजीको ४० प्रतिशत हिस्सा शेयर बिक्री गर्न लागेको हो । सर्वसाधारणमा आईपीओ बाँडफाँटपछि जारी पुँजी बराबरको रकम कायम हुनेछ ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी भने एनआईबीएल एस क्यापिटल लिमिटेडको रहेको छ भने प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।
देशभित्र र बाहिरबाट लगानीको दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधकार विकासका परियोजनामा मात्र लगानी गर्ने उद्देश्यसहित बैंकको स्थापना भएको हो । नेपाल राष्ट्र बैंकबाट २०७५ साल माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा काम गर्ने स्वीकृति पाएको कम्पनीले २०७५ फागुन २२ गतेदेखि नै औपचारिक रूपमा बैंकिङ व्यवसाय सुरु गरेको हो ।
यो नेपालको पहिलो पूर्वाधार विकास बैंक हो । बैंकमा नेपाल सरकारको समेत लगानी रहेको छ ।
सबै आवेदकले शेयर पाउने
पछिल्लो समय प्राथमिक बजारमा आईपीओ नपरेर दिक्क मानेका लगानीकर्ताहरूले यो आईपीओमा भने राहत महसुस गर्ने भएका छन् । हालसम्मको आईपीओमा परेको रेकर्डलाई हेर्दा सबै आवेदकले शेयर पाउने निश्चित देखिन्छ ।
कुल कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले कुल कित्तामध्ये ५ प्रतिशतका दरले ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको जानकारी दिए ।
हाल २३ लाखभन्दा बढीले हितग्राही खाता खोलेका छन् भने १२ लाखभन्दा बढी मेरो शेयर प्रयोगकर्ता रहेका छन् । पुस १२ गतेसम्म हितग्राही खाता खोल्नेको संख्या २३ लाख ११ हजार ४८० र मेरो शेयर प्रयोगकर्ता १२ लाख ५९ हजार ७६० रहेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ ।
प्राथमिक निष्कासनमा पछिल्लो समय १० लाख ९२ हजार २२६ जनाले आवेदन दिएकोसमेत सीडीएससीले प्रस्ट पारेको छ । पछिल्लो समय पुस १० गते बाँडफाँट भएको प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिनेको उक्त संख्या हालसम्मकै सर्वाधिक रहेको हो ।
पूर्ण प्रविधिमैत्री र देशभरि नै पहुँच पुगेको प्राथमिक बजारमार्फत सार्वजनिक निष्कासन हुने आईपीओ पाउन भाग्य भरोसाको स्थिति रहेकामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले भने सबै आवेदकलाई शेयर दिने भएको हो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा भने ११ लाख लगानीकर्ताहरूले आवेदन दिन सक्ने अनुमान लगाउँदा पनि सबै आवेदकले ६० कित्तासम्म र बढी पाउनेले ७० कित्तासम्म शेयर पाउने देखिन्छ । हालको सार्वजनिक निष्कासनको शेयर बाँडफाँटसम्बन्धी व्यवस्थामा प्रत्येक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गर्दा ११ लाख आवेदकलाई ६० कित्तासम्म बाँडफाँट गर्दा पनि ६ करोड ६० लाख कित्ता मात्र बाँडफाँट हुन्छ । अझै ९८ लाख ४० हजार कित्ता बाँकी रहन्छ ।
यो शेयर थप ९ लाख ८४ हजार जनालाई १० कित्ताका दरले बाँडफाँट गर्न पुग्छ ।







