नेकपामा बबन्डर, प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बो बर्खास्त
प्रधानमन्त्री केपी ओली समूहको नेकपा र माधव नेपाल–पुष्पकमल दाहाल समूहको नेकपाको झगडा प्रदेश १ सरकारमा पनि सुरु भएको छ । नेकपा ओली समूह नजिकका मुख्यमन्त्री शेरधन राईले अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेपछि अब सरकार के हुने भन्ने अड्कलबाजी सुरु भएको छ ।
मुख्यमन्त्रीविरुद्ध प्रचण्ड–माधव नेपाल समूहले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला राईले तत्कालीन माओवादीबाट सरकारको नेतृत्व गरेका आङ्बोलाई शनिबार साँझ पदमुक्त गरेका हुन् ।
मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको भन्दै पदबाट हटाएको मुख्यमन्त्री राईको दाबी छ ।
मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारका मन्त्री आङ्बोलाई पदमुक्त गरेको बताएका छन् । आङ्बोले प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा २ वर्ष १० महिना काम गरेका थिए ।
नेता नेपाल–प्रचण्ड समूहको समर्थक भए पनि आङ्बो राईपछिका सम्भावित मुख्यमन्त्रीको रुपमा चिनिन्थे । प्रदेशसभाका ९३ सांसदमध्ये नेकपाका ६८ सांसद छन्, जसमध्ये पूर्वएमालेका ५२ र पूर्वमाओवादीका १६ जना छन् ।
०७४ मा प्रदेशसभामा नेकपा एमाले संसदीय दलको निर्वाचन हुँदा अहिलेका मुख्यमन्त्री शेरधन राई विजयी भएका थिए । उनले एमालेका तत्कालीन सचिव भीम आचार्यलाई २ मतले हराएका थिए । पदमुक्त गरिएका मन्त्री आङ्बोले मुख्यमन्त्रीलाई धन्यवाद दिएका छन् ।







