प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल फेरबदल, पूर्वमाओवादीलाई चिठ्ठा
नेकपाभित्रको घरझगडापछि पुष्पकमल दाहाल र माधव नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन् ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीले राजीनामा दिएका मन्त्रीका ठाउँमा नयाँ सदस्य ल्याएका छन् भने केहीको जिम्मेवारी फेरबदल गरेका छन् ।
नवनियुक्त मन्त्रीहरूले शीतलनिवासमा शुक्रबार साँझ राष्ट्रपतिबाट शपथ लिएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको असन्तुष्ट समूह पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका मन्त्रीहरूले राजीनामा दिएका थिए ।
त्यसपछि रिक्त रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले शुक्रबार नयाँ मन्त्री नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले यसअघि प्रचण्ड क्याम्प छाडेर आएका टोपबहादुर रायमाझीलाई ऊर्जामन्त्री, मणि थापालाई खानेपानी, प्रभु साह सहरी विकासमन्त्री, प्रेम आले वनमन्त्री, गणेश ठगुन्नालाई सामान्य प्रशासन, गौरीशंकर चौधरीलाई श्रम, दाबा लामालाई युवा तथा खेलकुद,
जुलीकुमारी महतो महिला, बालबालिका र
विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मा दिएका छन् ।
प्रधानमन्त्री ओलीको पछिल्लो मन्त्रिमण्डल गठनमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी वहन गर्दै आएका भानुभक्त ढकाललाई पर्यटन मन्त्रालय, सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयमा सारिएको छ ।
यस्तै, जिम्मेवारी हेरफेर भएका अन्य मन्त्रीहरुमा लीलानाथ श्रेष्ठ कानुन,
शिवमाया तुम्बाहाङ्फे भूमिसुधार,
पद्मा अर्याल कृषि, कृष्णगोपाल श्रेष्ठलाई शिक्षा मन्त्रालयको जिम्मा दिइएको छ ।
यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिलामन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्यमन्त्री बनेका छन् ।
यसअघिका महिला, बालबालिकामन्त्री लीलानाथ श्रेष्ठ कानुन र कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधारमन्त्री बनेकी छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
त्यस्तै, सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् ।
युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् ।







