प्रचण्डलाई ओली समूहको कारबाही, नेकपामा ओली मात्रै अध्यक्ष
नेपाल कम्युनिस्ट पार्टी केपी ओली समूहले विधान संशोधन गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यकारी अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगलाई दिएको छ ।
ओली पक्षले पार्टीको निर्णय एक जना अध्यक्षले प्रमाणीकरण गरे पुग्ने व्यवस्थासमेत संशोधनमार्फत गरेको छ ।
यसअघि बुधबार नै नेकपाको प्रचण्ड र माधव नेपाल पक्षले निर्वाचन आयोगलाई अध्यक्षबाट केपी ओलीलाई हटाएको जानकारी दिएको थियो ।
विधान संशोधनमा केन्द्रीय समितिको सदस्य संख्या बढाइएको उल्लेख छ । ओली पक्षले थप गरिएका ५ सय ५६ जना केन्द्रीय सदस्यको सूचीसमेत निर्वाचन आयोगमा पठाएको छ । ओली पक्षले केन्द्रीय समिति १ हजार १ सय ९९ बनाउने निर्णय गरेको थियो ।
त्यस्तै, ओली पक्षले विधान संशोधनमा पार्टीको महाधिवेशन यसअघि २ वर्षभित्र गर्ने भन्ने ठाउँमा ४ वर्षभित्र गर्ने भन्ने शब्द राखेको छ ।
निर्वाचन आयोगका अनुसार पार्टी प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकिएको जानकारी पनि आयोगमा पुगेको छ ।







