अध्यादेशपछि कांग्रेसले बोलायो आकस्मिक बैठक
प्रमुख प्रतिपक्षी नपाली कांग्रेसले संवैधानिक परिषद्मा प्रतिपक्षी नेता रहने प्रावधान खारेज गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक भएको दाबी गर्दै बुधबारका लागि आकस्मिक बैठक बोलाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको उपसभापति विमलेन्द्र निधिले बताए ।
उनका अनुसार बुधबार दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बोलाइएको छ । उपसभापति निधिले भने, ‘आज अचानक आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो । संविधान र प्रणालीमाथि नांगो आक्रमण हो । यो अध्यादेश स्वीकार्य हुँदैन । यस विषयमा भोलिको बैठकमा छलफल हुन्छ ।’
अध्यादेशका सन्दर्भमा कांग्रेसको पूर्ववत निर्णय कायमै रहेका पदाधिकारी बैठकले पछिल्लो अध्यादेशबारे संस्थागत निर्णय लिने उनको भनाइ छ । ‘सरकारले यसअघि पनि दल विभाजनलाई सहज बनाउने र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । त्यसबेला हाम्रो केन्द्रीय कार्यसमितिले विरोध गरेको छ । यो पूर्ववत् निर्णय कायमै छ । यसमा स्थागत निर्णय गरिन्छ,’ उपसभापति निधिले भने ।
संवैधानिक परिषदमा सामान्य बहुमतले निर्णय गर्न खोज्नु संविधानको मर्मविपरीत भएको उनको भनाइ छ । ‘सभामुखले पुस १८ अगाडि संसद् बोलाउनुपर्छ भनिरहेका बेला सामान्य बहुमतबाट निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउनु भनेको एकलौटी गर्न खोजेको हो । यो कांग्रेसलाई मान्य हुँदैन,’ उनले भने ।







