पूर्वपत्नीविरुद्ध कानुनी कदम चाल्ने तयारीमा मनाेज गजुरेल
तीन वर्षअघि डिभोर्स भएपछि पनि पूर्वश्रीमतीबाट गाली–बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै वरिष्ठ हास्यव्यंग्य कलाकार मनोज गजुरेलले कानुनी उपचारमा जाने चेतावनी दिएका छन् ।सम्बन्ध विच्छेद भइसक्दा पनि विभिन्न माध्यमबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएकाले कानुनी कदम चाल्न बाध्य भएको उल्लेख गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले विगतमा भएका कुरा, युट्युबर तथा अनलाइन सञ्चारमाध्यममा आएका टिकाटिप्पणीले आफूलाई निकै दुःखी तुल्याएको बताएका छन् ।

गजुरेलले लेखेका छन्, ‘अब मैले अदालतमा बुझाउन आवश्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई सार्वजनिक गर्न बाध्य हुँदै गएको ठान्दैछु । सहनुको सीमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु ।’
छोरीको भागमा परेको अंश फिर्ता गर्नेबाहेक आफूहरूबीच कुनै लेनदेन बाँकी नरहेको मनोजको भनाइ छ । डिभोर्सका बेला छोरा बाबुसँग र छोरी आमासँग बस्ने सहमति थियो । तर डिभोर्सको ८ महिनापछि नै छोरी आमासँग बस्न नरुचाएर घर फर्केको मनोजले उल्लेख गरेका छन् ।
पूर्वपत्नी मिनाले डिभोर्सयता लगातार मनोजमाथि विभिन्न लाञ्छना लगाएर युट्युव च्यानलहरूमा अन्तर्वार्ता दिँदै आएकी छन् । मनोज भने हालसम्म मौन थिए । हालै मनोजले अर्को विवाह गर्न लागेको सार्वजनिक भएपछि मिनाले फेरि उनीमाथि विभिन्न आरोप लगाएकी छन् ।
यस्तो छ उनको फेसबुक स्टाटस ;
प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
१. झन्डै तीन बर्षअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर, कानुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गाली बेईज्जती गर्ने क्रम रोकिएन । एउटा सार्वजानिक र जिम्मेवार नागरिककाे नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिवाभकको नाताले चुपचाप सहेँ । तर, यो गाली बेईज्जती, अनावस्यक तनावको श्रृँखलाले बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो । त्यसैले बाध्य भएर केही प्रष्टिकरण गर्न भएको छु ।
२. सकिएकाे सम्बन्धकाे अाधारहिन अाराेप र प्रत्याराेपले मेरा छाेराछाेरीलाई धेरै ठुलो असर गर्न थालेकाे महसुस हुँदैछ । मेरो चरित्रमाथी खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन अाबश्यक नठानेकाे मेराे डिभाेर्सकाे कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य भएको ठान्दैछु । सहनुको सिमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगाेमा पुगेकोछु ।
३. अंश सहित आफुसँग बस्न लगेकी छोरी डिभोर्सको ८ महिनामै आमासँग बस्न नरुचाएर घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु । अर्को पक्षले भनेझैं हामी बिच कुनै लेनदेन बाँकी छैन छाेरीकाे नाममा लगेकाे अंश बाहेक । तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावस्यक टीका टिप्पणी, युटुबमा उनिहरुका फोटोको दुरुपयोगले मेरा सन्तान पढाइ र जीवन आघात परिरहेको छ ।
४. युट्युबर तथा अनलाईनका साथीहरु, तपाईंहरुलाई पनि यही स्टाटसबाट अनुराेध गर्दछु- मेरो नाम, फोटो र प्रसङ्ग जाेडेर कसैसँग ‘अन्तर्वार्ता’ लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस् । अनि, देशकाे कानुनलाई मनन गर्नोस् भन्ने अनुरोध गर्दछु जसले भोलि कानुनी अप्ठेरो नपरोस् ।
५. याे पोष्ट तथा कदम मेरा सन्तान, साथीभाइ तथा शुभचिन्तककाे धेरै पटककाे अाग्रह पछि लेख्दैछु । अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु । चासो र चिन्ताका लागि धन्यबाद







