दुई दिन सार्वजनिक बिदा दिन अध्ययन समितिको सिफारिस
सरकारी अध्ययन समितिले सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । सातामा दुई दिन सार्वजनिक बिदा दिन उपयुक्त हुने÷नहुने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो ।
समितिले सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको छ ।
मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरे, अर्थ मन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कवीन्द्र नेपाल सहभागी भएको अध्ययन समितिले सरकारलाई यस्तो सिफारिस गरेको हो ।
समितिले सार्वजनिक बिदाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा त्यसले मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्ने प्रभावसमेत अध्ययन गररेर सरकारलाई सुझाव दिएको हो ।
आन्तरिक पर्यटन प्रवद्र्धन, सार्वजनिक खर्चमा कटौती, इन्धनमा कटौती, उत्पादकत्व वृद्धिलगायत विषयमा अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको समितिले जानकारी दिएको छ ।
अहिले नेपालमा शनिबार मात्र सार्वजनिक बिदा दिने प्रचलन छ । मन्त्रालयले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने भन्दै सातामा दुई दिन बिदा दिने प्रावधानबारे अध्ययन गर्न समिति गठन गरेको थियो ।
समितिले विगतमा प्रकाशित कागज तथा दस्तावेजको अध्ययन, पर्यटन सेवा प्रवाह, ट्राफिक व्यवस्थापन तथा सरकारी खर्च सम्बन्धमा दुई दिने बिदाले पार्ने प्रभावबारे सरोकारवालासँग समेत छलफल गरेको थियो । विज्ञहरुको राय, उद्योगी, ट्रेड युनियनसँगको छलफलका निष्कर्षलाई समेत अध्ययनको विधिमा राखिएको समितिले जनाएको छ ।
अन्तर्राष्ट्रिय अभ्यास, सन्ीि सम्झौता र नीति नियमलाई समेत अध्ययनको आधार मानिएको छ ।
समितिले गरेको अध्ययनअनुसार संसारका ८८ प्रतिशत मुलुकमा सातामा दुई दिन सार्वजनिक बिदा दिइने गरेको छ । सातामा एक दिन मात्र बिदा दिने मुलुक १२ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ ।
एउटा देशले भने सातामा तीन दिनसम्म बिदा दिने गरेको छ । सबैभन्दा बढी बिदा दिने मुलुक कम्बोडिया र सबैभन्दा कम सार्वजनिक बिदा दिने मुलुक मेक्सिको भएको अध्ययनमा उल्लेख छ ।
सेवाग्राहीका लागि घरपायक स्थानमै सरकारी कार्यालय पुगेका कारण अब दुई दिन बिदा दिँदा उपयुक्त हुने निष्कर्षमा समिति पुगेको छ ।
६ दिनको अवधिमा सातामा ४० घन्टा काम गर्नुपर्ने अहिलेको प्रावधानभन्दा ५ दिनको काम गरेर सातामा ४० घन्टा कार्य अवधि पूरा गर्दा कम खर्चिलो हुने तर्कसमेत समितिको छ ।







