शिक्षकको कायरतापूर्ण हत्यापछि बोल्यो कांग्रेस, विप्लवलाई व्यक्ति हत्या छाडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई शान्तिपूर्ण बाटोमा आउन आग्रह गरेको छ । व्यक्ति हत्याको बाटो छाडेर शान्तिपूर्ण मार्गमा आउन कांग्रेसले विप्लवलाई आग्रह गरेको हो ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो आग्रह गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
हालै मोरङमा विप्लव समूहले एक शिक्षकको कायरतापूर्ण हत्या गरेको थियो । सो पार्टीले विज्ञप्तिसमेत निकालेर हत्याको जिम्मेवारी लिएको थियो ।
‘बैठकले मोरङमा बर्बर ढंगले गरिएको शिक्षक हत्याको विरोध बैठकले गरेको छ । घटनामा संलग्नलाई कारबाही माग गरिएको छ,’ उनले भने ।
विप्लव समूहले शिक्षक राजेन्द्र श्रेष्ठको कायरतापूर्ण हत्या गरेको थियो ।
सरकारले विप्लव समूहका गतिविधिलाई प्रतिबन्ध लगाएको छ ।
बैठकमा २९ मंसिरमा हुने देशव्यापी प्रदर्शनबारे पनि छलफल भएको थियो ।
क्रियाशील सदस्यता र जनसम्पर्क समितिबारे पनि छलफल भएको प्रवक्ता शर्माले जानकारी बताए ।
नेविसंघले गर्यो कारबाहीको माग
कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरस्वती आधारभूत विद्यालय, मोरङका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्नलाई तत्काल खोजेर कारबाही गर्न माग गरेको छ ।
नेविसंघ अध्यक्ष राजीव ढुंगानाले बिहीबार विज्ञप्ति जारी गरी मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गरे । ‘व्यक्ति हत्या क्रुर र अमानवीय अपराध हो, राजनीतिक वा अन्य आवरणमा यसलाई ढाकछोप गर्न मिल्दैन’, उनले भने ।
नेविसंघले विप्लव समूहलाई हिंसात्मक राजनीतिको बाटो परित्याग गरी शान्तिपूर्ण बाटोमा आउनसमेत आग्रह गरेको छ । नेविसंघका महामन्त्री दीपक भट्टराईले शिक्षक र विद्यार्थीको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरे ।
उनले सबै राजनीतिक दलले शिक्षा क्षेत्र, शान्ति क्षेत्र भन्ने कुरालाई मनन गर्न र त्यसको सम्मान गर्नुपर्ने बताए ।







