आठ महिनापछि पर्वतीय उडान सुरु
बन्दाबन्दीको करिब आठ महिनापछि शनिबारदेखि नियमित रूपमा पर्वतीय उडान सुरु भएको छ । कोरोना महामारीका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिक रूपमा खुलेको हो ।
महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान सुरु गरेका हुन् । बुद्ध एयरले शनिबार एक एटीआर–७२ र दुई थान एटीआर–४२ जहाजमार्फत तीन वटा उडान ग¥यो, जसमा १५० जना यात्रु पर्वतीय उडानमा सहभागी थिए ।
त्यस्तै, यती एयरलाइन्सले एक एटीआर–७२ र एक जेटस्ट्रिम जहाजबाट ९२ यात्रुलाई पर्वतीय उडान गराएको बताएको छ । यी दुवै कम्पनीले अब हरेक शनिबार पर्वतीय उडान गर्नेछन् ।
यात्रुको माग बढेमा उडान थप्ने उनीहरूको योजना छ ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सुरुआती पर्वतीय उडान उत्साहवद्र्धक रहेको र थप उडानको बुकिङसमेत राम्रो रहेकाले बीचमा उडान संख्या पनि बढाउन सकिने बताए ।
यतीले हरेक शनिबार दुई वटा पर्वतीय उडान गर्नेछ । बुद्ध एयरले पनि तीन वटा उडान गर्ने बताएको छ । सामान्य अवस्थामा बुद्धले पर्यटकीय मौसममा दैनिक आठदेखि नौ र कम्तीमा चार वटा उडान गर्ने गरेको थियो ।
बुद्धले पर्वतीय उडानका लागि ८ हजार ९०० रुपैयाँ भाडादर तोकेको छ ।
अहिले पर्वतीय उडानका लागि अनुकूल मौसम मानिन्छ । सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमशृंखला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायित हुन्छन् ।
पर्वतीय उडानमा विदेशी तथा नेपाली दुवैको आकर्षण रहे पनि अहिले विदेशी पर्यटकको चहलपहल छैन । नेपालमा कोभिड नियन्त्रणका लागि गत चैत ११ देखि देशभार लागू भएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन ।
असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ गते बाट अन्तर्राष्ट्रिय नियमित उडान सुरु भएको थियो ।
आन्तरिक पर्यटलाई आकर्षित गर्ने गरी दुई एयरलाइन्सले छुट तथा अफरसहित पर्वतीय उडान सञ्चालन गरेका हुन् । बुद्ध र यतीले पर्वतीय उडानका यात्रुले एक टिकट खरीद गर्दा थप एक टिकट निःशुल्कको व्यवस्था गरेका छन् ।
कोरोना संक्रमण कायमै रहेको र विदेशी पर्यटक उल्लेख्य संख्यामा नआएकाले पनि एयरलाइन्सले आन्तरिक पर्यटकलाई आकर्षण गर्न उडान सुरु गरेका छन् । शनिबार बिदाको समय भएकाले परिवार आफन्त तथा साथीभाइ घुम्न सहज र सुलभ होस् भन्ने हेतुले अहिलेलाई अफर ल्याइएको एयरलाइन्सले बताएका छन् ।
१० महिनापछि यतीको पहिलो उडान
झन्डै १० महिनापछि शनिबार यती एयरलाइन्सले पहिलो पर्वतीय उडान गरेकोे छ । कम्पनीले प्रत्येक शनिबार एउटा उडान गर्ने गरी बुकिङ सुरु गरेको भए पनि यात्रुको मागबमोजिम दुई उडान गरिएको विज्ञप्तिमार्फत बताएको हो ।
एयरलाइन्सका हवाई सुरक्षा प्रमुखसमेत रहेका प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुको माग बढेकाले अब प्रत्येक शनिबार एटीआर–७२ जहाजमार्फत दुई वटा पर्वतीय उडान हुने बताए ।
‘हाम्रो सगरमाथाकै उचाइ बराबरको भाडादरमा दुई वटा टिकट पाइने आकर्षक प्याकेज, संक्रमणरहित उडानका लागि हामीले अपनाएका विधि र प्रक्रियाप्रति यात्रुको विश्वास बढेकाले अझ उत्साहित बनाएको छ,’ उनले भने ।
बिहान ७ः२० मा पहिलो उडान गरेको यतीले शनिबार ९२ जना यात्रुलाई पर्वतीय उडानमा लगेको थियो । नेपाली यात्रु तथा आवासीय विदेशी नागरिक र भारतीय नागरिकका लागि छुट्टाछुट्टै प्याकेज ल्याएको यतीले दुई टिकटका लागि क्रमशः ८ हजार ८४८ रुपैयाँ र र १३ हजार २७५ रुपैयाँ भाडादर तोकेको छ ।
पर्वतीय उडान काठमाडौंबाट आवतजावत गरी एक घन्टाको हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भई गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजंगा हिमाल नजिक पुगेर पुनः काठमाडौँमा अवतरण हुनेछ ।
अग्ला हिमालसँगै महाभारत पर्वत शृंखलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायित हुन्छन् । आन्तरिक उडानका लागि हाल १० हेलिकप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनीले उडान गर्दै आएका छन् ।







