पर्यटनमन्त्रीको ठोकुवा ः पर्यटन उक्सिन थाल्यो
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको दाबी गरेका छन् । आमदब्लम हिमाल आरोहण गरी काठमाडौं फर्किएका कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला एम अलथानीसहितको टोलीसँगको भेटपछि पर्यटनमन्त्रीको यस्तो भनाइ बाहिर आएको हो ।
संसारमै कोभिड संक्रमण जोखिम कायमै रहे पनि छिमेकी मुलुकबाट उच्च पदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउनु पर्यटन क्षेत्र विस्तारै आफ्नो गतिमा अगाडि बढ्न थालेको संकेत भएको उनले बताए ।
पछिल्लो समय सरकारले पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेसँगै अहिले विदेशी पर्यटकको आगमन पनि बढ्दै गएको मन्त्री भट्टराईको दाबी छ । राजकुमार शेख मोहम्मद आइतबार आफ्नो देश फर्किंनेछन् ।
राजकुमार शेख मोहम्मदले लामो समयदेखि आफू नेपाल आइरहेको उल्लेख गर्दै छिट्टै अर्को भ्रमणमा आउने विश्वास दिलाए । नेपालका हिमालय र गाउँहरु आफूलाई धेरै मन परेको उनको भनाइ छ ।
राजकुमारसहितको टोलीले बुधबार आमदब्लम हिमालको सफल आरोहण गरेको हो । कोरोना महामारीका कारण विश्व पर्यटन धराशयी बनेका बेला विदेशी ‘हाइ प्रोफाइल’ ले नेपालका हिमाल आरोहण गरेको यो दोस्रो हो ।
यसअघि बहराइनका राजकुमार सम्मिलित १८ जनाको टोलीले लोबुचे (६,१४५ मिटर) र मनास्लु (८,१६३ मिटर) हिमाल आरोहण गरेको छ । कतारका राजकुमारको टोलीको नेतृत्व अमेरिकी गाइड ग्यारेट सी म्याडसनले गरेका थिए । उक्त टोलीमा पाँच नेपाली गाइडसहित १२ सहभागी थिए ।







