प्रचण्डलाई ओलीको प्रेम–पत्र, दाहालमाथि गुटबन्दी सिर्जनाकर्ता भएको आरोप
गोकुल अर्याल
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले पार्टीभित्र गुटबन्दीको सिर्जनाकर्ता अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै भएको दाबा गरेका छन् ।
प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले गत शनिबार बुझाएको पत्रको जवाफमा प्रधानमन्त्रीले यस्तो आरोप लगाएका हुन् ।
प्रचण्डलाई सम्बोधन गरिएको पत्रमा सचिवालयका अन्य सदस्यलाई बोधार्थ पठाइएको छ ।
प्रचण्डलाई सम्बोधन गरिएको पत्रमा गुटबन्दी तपाईंले नै गरेको हो भन्ने लामो व्यहोरा छ । ‘मैले पार्टी बैठक राख्दिनँ भनेर कहिले पनि भनेको छैन,’ प्रधानमन्त्रीले भनेका छन् ।
पत्रमा प्रचण्डलाई गुटबन्दी छाडेर पार्टी, देश र जनताको हितमा काम गर्न आउन आग्रह गरिएको छ । ओलीले लेखेको ८ पेज लामो पत्रमा प्रचण्डलाई पार्टीमा गुट चलाएको आरोप लगाइएको छ ।
पत्रमा प्रधानमन्त्रीको आक्रोश प्रचण्डमाथि नै धेरै देखिएको छ । दुई अध्यक्षबीचमा हुँदै नभएको कुरालाई बाहिर सार्वजनिक गरेकोसमेत प्रधानमन्त्री ओलीले आरोप लगाएका छन् ।
गत शनिबार सचिवालयको बैठकका लागि बहुमत सचिवालय सदस्यले लिखित ध्यानाकर्षण बुझाउन जाँदासमेत प्रधानमन्त्री ओली प्रचण्डसँग आक्रोशित बनेका थिए ।
प्रधानमन्त्री ओलीले त्यो दिन प्रचण्डलाई पटक–पटक जाली फटाहा भनेका थिए भने प्रधानमन्त्रीलाई पनि प्रचण्डले महाजाली र महाफटाहा भनेका थिए ।
मंगलबार प्रचण्डले कात्तिक २७ गतेका लागि सचिवालय बैठक बोलाउन सुझाव दिँदासमेत प्रधानमन्त्री ओली सकारात्मक भएका थिएनन् । प्रधानमन्त्रीलाई भेटेलगत्तै प्रचण्ड धुम्बाराही पुगेका थिए । धुम्बाराहीमा भएको बहुमत सचिवालय सदस्यको बैठकले समेत २७ कात्तिकको बैठक राख्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको थियो ।
प्रधानमन्त्रीले बैठक बोलाउन ढिलाइ गरेको भए बिहीबार ओलीइतर पक्षले अनौपचारिक बैठक गरेर सचिवालय बैठक तोक्ने तयारी गरेको थियो । त्यसपछि सचिवालय बैठक बोलाएर स्थायी कमिटी बैठक बोलाउने प्रचण्डसहितका बहुमत सचिवालय सदस्यको तयारी थियो । प्रधानमन्त्री ओलीले बिहीबार नै शुक्रबारका लागि सचिवालय बैठक बोलाएपछि भने ओलीइतर पक्ष अगाडि बढेको छैन ।
सचिवालय बैठक ‘बैठक’ बस्ने गरी सकियो
नेकपाका दोस्रा अध्यक्ष प्रचण्डसहितका नेताहरुको दबाबमा प्रधानमन्त्री निवास बालुटारमा बसेको सचिवालय बैठक एकअर्का नेताको नाडी छामेर आगामी बैठकको एजेण्डा तय गर्दै सकिएको छ ।
सचिवालय बैठकले ३ मंसिरमा पुनः बैठक बस्ने एजेन्डा तय गरेको छ । आगामी बैठकमा पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र आन्तरिक घम्साघम्सीमा देखिएको समस्यामा छलफल हुने एजेन्डा तय भएको नेकपाका एक नेताले बताए ।
सचिवालय बैठकमा गत शनिबार प्रचण्डसहित सचिवालयका ५ सदस्यहरूले प्रधानमन्त्रीलाई दिएको पत्र, त्यसपछि प्रधानमन्त्रीले प्रचण्डलाई दिएको पत्र र प्रचण्डले प्रधानमन्त्रीलाई लेखेको पत्रसमेत पेस भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
सबै पत्र बन्द खाममा वितरण गरिएका थिए । यसअघि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ५ सचिवालय सदस्यहरूले प्रधानमन्त्री ओलीलाई भेटेरै बैठक राख्न लिखित पत्र बुझाएका थिए ।
तर प्रधानमन्त्री ओलीले तत्कालै बैठक नराख्ने भन्दै विधानअनुसार जाने जवाफ दिएका थिए ।







