धुम्बाराही बैठकमा ओलीविरुद्ध आगो
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बोलाएको अनौपचारिक सचिवालय सदस्यको भेलामा ४ सदस्य अनुपस्थित भएका छन् ।
नेकपा मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा ९ सचिवालय सदस्यमध्ये प्रधानमन्त्री केपी ओली पक्षधर ४ सदस्य अनुपस्थित भएका हुन् ।
छलफलमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्रै सहभागी थिए ।
सचिवालयका ९ सदस्यलाई नै कार्यकारी अध्यक्ष प्रचण्डले छलफलका लागि धुम्बाराहीमा बोलाए पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली, महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेल सहभागी भएनन् ।
बिहीबार प्रधानमन्त्री एवं पार्टी अध्यक्षसँगको भेटमा अर्का अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए । प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री ओलीले अहिले नै बैठक बोलाउन जरुरी नरहेको प्रतिक्रिया दिएका थिए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीको भेट, राजदूत नियुक्तिलगायत विषयमा विवाद हुँदा नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीचको तिक्तता भुसको आगोमा परिणत भइरहेको छ ।







