भारतीय सेनाध्यक्ष नरवणेले भेटे प्रधानमन्त्री ओली
लिपुलेक, कालापानी र लिम्पियाधुराको अतिक्रमणविरुद्ध नेपालले नक्सा सार्वजनिक गरेपछि चीनको उक्साहटमा त्यसो गरेको भनेर विवादमा तानिएका भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमणमा क्रममा प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् ।
भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको मित्रता गाढा रहेको र कतिपय विषयमा दुई देशबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरे ।
ओलीले दुई देशबीचको पुरानो सम्बन्ध रहेको जनाउँदै एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार ओलीले पारस्परिक समानता र पारस्परिक सम्मानका आधारमा दुई देशको सम्बन्ध अगाडि बढ्नुपर्ने बताएका थिए ।
दुवै देशबीच सीमालगायत अन्य कतिपय विषयमा समस्या भए पनि वार्ताबाटै समस्या हल गर्नुपर्नेमा ओलीको जोड थियो । वार्ता र संवादको माध्यमबाट विगतदेखि रहेका समस्या समाधान गर्दै सम्बन्धलाई समयअनुसार अगाडि लिएर जानुपर्ने ओलीले बताएका थिए ।
भारतीय सेनाप्रमुख नरवणेले नेपाल–भारतसँग सम्बन्ध असल हुनुपर्ने मान्यतासहित अगाडि बढिरहेको भन्दै भारत फर्किन लागेको बताएका थिए । डा. भट्टराईका अनुसार नरवणेले प्रधान सेनापति पूर्णचन्द्र थापासँगको शिष्टाचार भेटमा दुवै देशका सेनाबीच एकआपसमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा कुराकानी भएको जानकारी प्रधानमन्त्रीलाई दिएका थिए ।
भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि बढेको सीमा विवाद समाधानका लागि यस्ता औपचारिक भेटवार्ताले सहयोग पुग्ने डा. भट्टराईले बताए ।
एक वर्षदेखि दुई देशबीचको सीमा समस्या समाधानका लागि पटक–पटक वार्ताको प्रस्ताव गर्दा पनि सफल हुन नसकेको सन्दर्भमा नियमित कुरालाई निरन्तरता दिन सके सीमा समस्या समाधानका लागि औपचारिक वातावरण बनाउँदै समस्या समाधान हुने मान्यता रहेको डा. भट्टराईको भनाइ छ ।
भेटमा प्रधानमन्त्रीसँगै उनँका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी थिए । नरवणेसँगै भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी थिए ।
गत बुधवार नेपाल आएका नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी थिइन् । तीन दिने नेपाल भ्रमणमा रहेका नरवणे शुक्रबारै स्वदेश फर्किएका छन् ।







