कालीगण्डकी करिडोरको सुक्खा पहिरोले लियो ५ मजदुरको ज्यान
कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच मजदुरको सुक्खा पहिरोमा पुरिएर मृत्यु भएको छ । कावासोतीस्थित नवलपुरको बुलिङ्टार गाउँपालिकामा सुक्खा पहिरोमा पुरिएर उनीहरूले ज्यान गुमाएका हुन् ।
सडक खण्डमा ग्याबिनमा ढुंगा भरिरहेका बेला बुधबार बेलुकी माथिबाट खसेको पहिरोमा मजदुरहरू पुरिएका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपुर प्रमुख प्रकाश मल्लका अनुसार मृत्यु हुनेहरू सबै बुलिङटार–४ का बासिन्दा हुन् । मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुंगेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको मल्लले जानकारी दिए ।
पहिरोमा पुरिएका पाँचै जनाको शव इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली र स्थानीयले बाहिर निकालेका थिए ।
पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएका छन् । उनीहरूलाई करिडोरमै कार्यरत अन्य मजदुरले उद्धार गरेका थिए । उनीहरू दुवैको चितवन भरतपुरमा उपचार भइरहेको छ ।







