त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाउने
त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् । विद्यार्थी जहाँ छन्, त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौं आउनुपर्ने छैन ।
त्रिविका रजिस्ट्रार डा. पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए । यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेबसाइटमा गएर विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउनेछन् । सोही परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् ।
लकडाउनको समयमा हुन नसकेको परीक्षा त्रिविले मंसिर दोस्रो साताबाट गर्ने तयारी थालेको छ । ‘हामीले परीक्षा केन्द्र तोकेका छौं । अनलाइनमा आफूलाई नजिक पर्ने परीक्षा केन्द्र रोजेर परीक्षार्थीले परीक्षा दिने व्यवस्था गरेका छौं,’ उनले भने, ‘परीक्षा दिनका लागि अब काठमाडौं आउनु पर्दैन । आफूलाई पायक पर्ने ठाउँबाट परीक्षा दिन पाउनेछन् ।’
प्रवेशपत्र पनि अनलाइनबाट आफैं विद्यार्थीले प्रिन्ट गरेर लिन सक्ने व्यवस्था मिलाइएको छ ।
कोभिड–१९ का कारण गत ७ चैतदेखि त्रिविअन्तर्गतका सबै परीक्षा स्थगित भएका थिए । न्यून भएका परीक्षा भने त्रिविले अहिले पनि भौतिक दूरी कायम राखेर सञ्चालन गरिरहेको छ ।
रजिस्ट्रार डा. दाहालले एक–दुई दिनभित्रै सबै परीक्षाको कार्यतालिका प्रकाशन गरिने बताए ।
त्रिविको वार्षिक परीक्षा पनिका र सेमेस्टर परीक्षा डीन कार्यालयले लिनेछन् ।







