प्रधानमन्त्री ओलीको उद्घोष, मेरो राजीनामा माग्नेहरू देशलाई बर्बादीतिर लैजान चाहन्छन्
प्रधानमन्त्री केपी ओलीले कुनै पनि हालतमा राजीनामा नदिने उद्घोष गरेका छन् । आफूले राजीनामा दिए देश बर्बादीतिर जाने दाबी प्रधानमन्त्री ओलीको छ ।
चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको बुधबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जुनसुकै परिस्थितिमा पनि राजीनामा नदिने बताएका हुन् ।
पछिल्लो समय पार्टीभित्रैबाट राजीनामा दिन दबाब परेको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भए पनि राजीनामा नदिने प्रस्ट पारे ।
उनले भने, ‘तपाईंहरू विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरा लागि होइन, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन । मैले दोहो¥याएर भने पनि केहीले खोइ राजीनमा भनेर मागिराखेका छन् । यो बेकारको कुरा हो ।’
प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको बताए । व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने द्विविधामा नपर्नसमेत उनले आग्रह गरे ।
उनले भने, ‘म यस ठाउँमा आएको मेरो रहरले होइन, जनताको आवश्यकता र समर्थनले हो । त्यसकारण तपाईंहरू ढुक्क भएर काममा लाग्नुस् । यो सरकार फेरिन्छ कि बदलिन्छ कि भनेर धेरैले धेरै पल्ट धेरै प्रकारका कोसिस गरे । भित्र, बाहिर अनेकथरीका कोसिस आए । जेमा पनि आलोचना गर्ने, जेमा पनि आलोचना गर्ने । यसबाट प्रभावित नहोऔं ।’
प्रधानमन्त्री ओलीले एकथरी व्यक्तिहरू देशमा अस्थिरता निम्त्याउन लागिपरेको दाबीसमेत गरे ।







