वामदेवलाई नेकपा विवाद मिलाउने जिम्मा
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको रडाको मिलाउन उपाध्यक्ष वामदेव गौतमलाई सुझाव दिएकी छन् । मंगलबार बेलुकी राष्ट्रपति भण्डारीले उपाध्यक्ष गौतमलाई शीतलनिवासमै डाकेर पार्टी विवादबारे छलफल गरेकी हुन् ।
भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकताका लागि भूमिका खेल्न आग्रह गरेको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताए ।
‘पार्टीको एकताका लागि तपाईंले विगतमा जस्तै भूमिका खेल्नुप¥यो । पार्टीलाई फुटबाट जोगाउन तपाईंको सक्रियता जरुरी छ भनेर राष्ट्रपतिले भन्नुभएको रहेछ,’ सुवेदीले भने, ‘जवाफमा वामदेव कमरेडले आफू दत्तचित्त भएर पार्टी एकताका लागि पहल गर्ने बताउनुभयो ।’
पछिल्लो समय नेकपामा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको विवाद उत्कर्षमा पुगेको छ ।
गत शनिबार दुई अध्यक्षबीच भेट भएको थियो । भेटमा प्रचण्डले ओलीसँग प्रधानमन्त्री पद मागेको ओली निकट नेताले बताएका थिए भने ओलीले पार्टी अलग गर्न भनेको प्रचण्डले खुमलटारमा खुलासा गरेका थिए ।







