बिनानिष्कर्ष टुंगियो कांग्रेस बैठक
पार्टीभित्रको किचलो सल्टाउन बसेको नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यहरूले लिखित रूपमा राखेका १६ बुँदे असहमतिबारे सोमबार छलफल भए पनि कुनै निर्णय भएन ।
बैठकमा वरिष्ठ नेता पौडेलले पार्टी विधि विधानअनुसार चल्न नसकेको बताएका थिए । उनले सभापति देउवाले निर्वाचन आचारसंहिता विपरीत विभागहरू गठन गरेकाले खारेज हुनुपर्ने दोहो¥याएका थिए ।
छलफलमा सहभागी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार सोमबार कुनै सहमति भएन । मंगलबार पुनः बैठक बस्नेछ ।
‘हामीले राखेका असहमतिबारे संस्थापन पक्षले गम्भीर ढंगबाट लिएको देखिएन,’ नेता केसीले भने, ‘भोलि पुनः बैठक बस्छ । हामीले केही गल्ती गरेका छैनौं । सबै ठीक गरेका छौं भन्ने संस्थापन पक्षको भनाइ रह्यो ।’
बैठकमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले तीन घन्टा बोलेका थिए । उनीहरूले अहिलेको नेतृत्वले विधानअनुसार नै काम गरिरहेको दाबी गरेका थिए ।
बैठकमा सभापति देउवाले पार्टीभित्र देखिएका असहमति हल गरेर जानुपर्ने भन्दै विषय प्रवेश गराए ।
सहमहामन्त्री प्रकाशशरण महतका अनुसार सोमबारे बैठकमा सहभागीले बोल्ने कुरा नसकिएकाले मंगलबार पुनः बस्ने गरी समापन गरिएको छ । पार्टीभित्र सामान्य विवाद रहेकोले छलफल गरी टुंगोमा पुगिने महतले बताए ।
‘आज विषय प्रवेश मात्रै भयो। नेताहरूले आप्mना कुरा राख्नुभयो,’ उनले भने, ‘भोलि बस्ने बैठकले असमझदारी हल गर्छ ।’ उनले पार्टीभित्र धेरै मतभिन्नता बाँकी नरहेको पनि दाबी गरे ।
‘क्रियाशील सदस्यता र समायोजनलगायत सामान्य विवाद छ,’ महतले भने, ‘भोलि यी विषय टुंगिन्छ ।’
बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि धारणा राखेका थिए । वरिष्ठ नेता पौडेलले राखेका असहमतिबारे छलफल गरी टुंगोमा पुग्नुपर्ने धारणा उनको थियो ।
कांग्रेसले महाधिवेशनबारे छलफल गर्न २१ कात्तिकमा केन्द्रीय समिति बैठक राखेको छ । उक्त बैठकअघि नै आफूहरूले राखेका असहमतिबारे छलफल गरी टुंगोमा पुग्न वरिष्ठ नेता पौडेलले माग गरेपछि सभापति देउवाले अनौपचारिक बैठक राखेका हुन् ।
कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ तर क्रियाशील सदस्यता वितरण र नवीकरणका काम अलपत्र छन् ।
महाधिवेशन सुनिश्चिततालगायत विषयमा नेतृत्व प्रस्ट हुनुपर्ने भन्दै गत १२ असोजमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मीनेन्द्र रिजाल, सुजाता कोइरालालगायतले पार्टी कार्यालयमा हस्ताक्षरै बुझाएका थिए ।







