उद्योग वाणिज्य महासंघ चुनाव, प्रधान समूहले दर्ता ग¥यो उम्मेदवारी
उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न चुनावका लागि किशोर प्रधान समूहको प्यानलले उम्मेदवारी दर्ता गरेको छ ।
मंसिर १२ गते संस्थाको नयाँ नेतृत्वका लागि काठमाडौंमा हुने चुनावमा प्रधानसहित उनको प्यानलले उम्मेदवारी दर्ता गरेको हो ।
प्रधान समूहबाट वस्तुगततर्फ अन्जन श्रेष्ठ, जिल्लानगरतर्फ दिनेश श्रेष्ठ र एसोसिएटबाट सौरभ ज्योतिले उम्मेदवारी दर्ता गराएका छन् । ललितपुरमा आयोजित कार्यक्रममा भावी अध्यक्ष शेखर गोल्छासहित पूर्वअध्यक्षहरुको उपस्थितिमा प्रधान प्यानलले उम्मेदवारी दर्ता गराएको हो ।
कार्यक्रममा प्रधान प्यानलका सबै उम्मेदवारको उपस्थिति रहे पनि कोभिड संक्रमणका कारण एसोसिएट उपाध्यक्षको उम्मेदवारी दिएका ज्योति भने भर्चुअल माध्यमबाट सहभागी थिए ।
कार्यक्रममा प्रधानले निजी क्षेत्रको नेतृत्व गरेर सरकारसँग सहकार्य गरी नीतिगत कठिनाइ हटाएर व्यवसायमा रहेका बाधा हटाउन आफूले उम्मेदवारी दर्ता गराएको बताए । उनले भने, ‘हामी इतिहासकै कठिन मोडमा छौँ, पहिले–पहिले पनि अध्यक्षलाई उपाध्यक्षलगायत अन्य पदाधिकारीले असहयोग गर्दा महासंघले काम गर्न नसकेका प्रशस्तै उदाहरण छन् । हामी औँला नभएर मुठ्ठी बनेर काम गर्न चाहन्छौं ।’
भावी अध्यक्ष पक्का भएका गोल्छाले प्रधान प्यानलसहितको सहभागिताले मात्रै देशको अर्थतन्त्र सुधारका लागि महासंघले काम गर्न सक्ने बताए । राजनीति गर्न महासंघमा नआएको बताउँदै निजी क्षेत्रको सुधारका लागि योजना बनाएर आएकाले यी काम पूरा गर्न आफूलाई सहयोग गर्नेहरु चाहिने भएकाले प्रधानको टिमलाई साथ दिएको उनको भनाइ थियो ।
मंसिर दोस्रो साता हुने साधारणसभासँगै वर्तमान अध्यक्ष भवानी राणाको कार्यकाल सकिने र महासंघमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्न पाउने विधानअनुसार गोल्छाले नेतृत्व सम्हाल्नेछन् ।
गोल्छा अध्यक्ष बन्ने पक्का भए पनि सहमति नजुट्ेदा प्रधान र अर्का उपाध्यक्ष चन्द्र ढकालको समूह उपाध्यक्षलगायत अन्य पदका लागि चुनावमा भिड्दै छ ।
पदाधिकारी बैठकले मंसिरमा चुनाव गर्ने निर्णय गरेर सरकारसँग अनुमति लिएपछि ढकाल प्यानलले यसअघि नै उम्मेदवारी दर्ता गराइसकेको छ । ढकाल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वस्तुगततर्फ उमेशलाल श्रेष्ठ, जिल्लानगरतर्फ गुणनिधि तिवारी र एसोसिएटतर्फ रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
यसअघि गत वर्ष चैतमै महासंघको ५४ औँ साधारणसभा र नयाँ नेतृत्व चयन हुने निर्णय भइसके पनि कोरोनाका कारण अन्तिम समय आएर साधारणसभा स्थगन भएको थियो । त्यसपछि पटक–पटक साधारणसभाका लागि मिति तय भए पनि कोरोनाकै कारण तोकिएको समय साधारणसभा हुन सकेको थिएन ।
कोरोनाबाट सिर्जित आर्थिक संकट पार लगाउन महासंघमा दरिलो नेतृत्व आउनैपर्छ ः महासंघ उपाध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
उपाध्यक्ष ढकालले कारोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा परेकाले सम्भावित आर्थिक संकटलाई पार लगाएर निजी क्षेत्रको प्रवद्र्धनमार्फत देशको अर्थतन्त्रलाई ओत प्रदान गर्न अबको महासंघमा दरिलो नेतृत्व आवश्यक रहेको बताएका हुन् ।
काठमाडौंमा सोमबार आयोजित आप्mनै समूहका पदाधिकारीसहितका उम्मेदवारसँगको अन्तक्र्रियामा ढकालले भने, ‘कोभिडका कारण हामीले इतिहासमै कहिल्यै नसोचेको क्षति भोगेका छौं । अझै कस्तो जटिलता सामना गर्नुपर्ने हो भन्ने स्पष्ट भइसकेको छैन । त्यसैले देशको उद्योग एवं समग्र व्यापार व्यवसायलाई बचाइराख्न र संरक्षण प्रदान गर्न बलियो काँध चाहिएको छ ।’
नेतृत्वमा सफल र सक्षम व्यवसायी पुगे महासंघको गौरवपूर्ण इतिहास र ओज कायमै रहने उनको बुझाइ छ । उपाध्यक्ष ढकालले भने, ‘महासंघको नेतृत्वमा पुग्ने सशक्त व्यावसायिक नेटवर्कसहितको सफल व्यवसायी हुनुपर्ने र यस्तो व्यवसायी देशका समग्र व्यवसायीका समस्यासँग अवगत रहेको हुनुपर्नेछ ।’
ढकालले आफ्नो समूहमा साना तथा मझौला व्यवसायीदेखि ठूलो व्यावसायिक घरनासम्मको उपस्थिति रहेकाले महासंघको आगामी कार्यकाल थप प्रभावकारी, नेतृत्वदायी र रचनात्मक रहने बताए ।
कोरोनाका कारण सिर्जित आर्थिक चुनौती सामना गर्ने व्यक्तिगत पहल मात्रै पर्याप्त नहुने भएकाले महासंघको नेतृत्वमा सही र सक्षम व्यक्ति चयन गर्ने उपयुक्त अवसर आएको ढकालको तर्क छ ।
देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी एवं नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यवसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लबिइङ गर्ने नेतृत्व चाहिएको उनको भनाइ छ । अन्तक्र्रियात्मक भेलामा ढकाल समूहका उम्मेदवारहरू उमेशलाल श्रेष्ठ, गुणनिधि तिवारी, रामचन्द्र संघईलगायत उपस्थित थिए ।







