नेकपामा चिरा पर्ने संकेत, प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहाल पक्षबीच आगामी रणनीतिबारे मन्थन
गोकुल अर्याल
घरझगडाले थला परेको नेकपामा वैधानिक रुपमै पार्टी फुटाउने पक्ष–विपक्षमा बहस चर्किन थाले
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार बालुवाटारमा भएको गन्थनले पनि पार्टीभित्रको रडाको थामिन सकेन । तर, प्रधानमन्त्री ओलीको नयाँ प्रस्तावका कारण नेकपाभित्र खैलाबैला मच्चिएको छ ।
शनिबारको भेटवार्तामा प्रधानमन्त्री ओलीले ‘अब आ–आफ्नो बाटो लागौं’ भन्दै प्रचण्डसँग सल्लाहमै पार्टी फुटाउने प्रस्ताव राखेको नेकपा सचिवालयका एक नेताले बताएका छन् ।>प्रचण्डले भने सल्लाहले पार्टी फुटाउन नमिल्ने भन्दै ओलीको प्रस्ताव अस्वीकारेको ती नेताको दाबी गरे ।
आइतबार पनि ओली र प्रचण्डबीच फोन वार्ता भएको थियो । नेताहरूका अनुसार यी सबै वार्तामा प्रधानमन्त्री ओलीले पूर्वमाओवादी र पूर्वएमाले आ–आफ्नो बाटो लाग्नुपर्ने प्रस्ताव गरेपछि नेकपामा वैधानिक चिरा पर्ने संकेत देखिएको छ ।
प्रधानमन्त्री ओलीले मनोवैज्ञानिक दबावका लागि प्रचण्डलाई त्यसो भनेका हुन् वा साँच्चै पूर्वएमालेको पुनर्गठन गर्न चाहेका हुन् ? यसको रहस्य भने अनुत्तरित नै रहेको छ ।
पूर्वमाओवादी खेमाका नेताहरूको दाबीअनुसार ओलीले माओवादीसँग सम्बन्ध विच्छेद गर्ने गृहकार्य थालिसकेका छन् ।
त्यसको प्रमाणका रुपमा बालुवाटारमा शनिबार ओली र प्रचण्डसँग भेटवार्ता भएकै दिन केही नेताहरू गोठाटारस्थित पुराना नेता प्रदीप नेपालको घरमा पुगेका थिए । प्रदीप नेपालसँगको यो भेटमा प्रधानमन्त्रीका सल्लाहकारत्रय विष्णु रिमाल, डा. राजन भट्टराई र सूर्य थापाका साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सहभागी थिए । यो भेटलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘राजनीतिक शिष्टाचार’ भनेका छन् ।
यो भेटमा प्रधानमन्त्री ओलीका दूत बनेर पुगेका नेताहरूले अब पूर्वमाओवादीसँग सँगै हिँड्न नसकिने अवस्था आएको भन्दै पूर्वएमालेहरूलाई मिलाउने भूमिका खेलिदिन प्रदीपसँग आग्रह गरेका थिए ।
खासगरी माधव नेपाल र केपी ओलीलाई एक ठाउँ ल्याउने भूमिका खेलिदिन नेताहरूले प्रदीप नेपालसँग आग्रह गरेका थिए ।
निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमालेको अध्यक्ष बनिदिने प्रस्ताव लिएर बालुवाटारबाट नेताहरू प्रदीप नेपालको घर पुगेको पूर्वमाओवादी समूहका कतिपय नेताहरूको दाबी छ ।
ओलीले प्रचण्डसँग सम्बन्ध विच्छेद गर्न चाहेको अर्को प्रमाण महासचिव विष्णु पौडेलको फेसबुक स्टाटसलाई लिइएको छ । महासचिव पौडेलले पार्टी विभाजनको सँघारमा पुगेको संकेत गर्दै भनेका छन्, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ ।’
नेकपा स्रोतका अनुसार प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाललगायतका ओली पक्षीय नेताहरू यो पाराले प्रचण्डसँग सहकार्य गरेर अगाडि जान नसकिने निष्कर्षमा पुगेका छन् । तर, महासचिव पौडेल भने अहिले पार्टी विभाजन गर्न नहुने र एक भएर अघि बढ्नुपर्ने पक्षमै छन् ।
ओली पक्षका कोर नेताहरूको छलफलमा छुटेका अर्थमन्त्री एवं महासचिव पौडेल बिहान ढिलो गरी बालुवाटार पुगेका थिए ।
पछिल्लो साता प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर दुई पटक भलाकुसारी गरिसकेका छन् ।
त्यसो त तीन दिनअघि मात्रै प्रचण्डलाई भेट्न खुमलटार पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई अध्यक्षको संवादहीनताप्रति दिक्दारी मान्दै कहिलेकाहीँ त आफूलाई ‘सल्लाहबाटै आ–आफ्नो बाटो हिँडौंजस्तो लाग्छ’ भनेका थिए ।
अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेल अहिलेको अवस्थामा पार्टी विभाजित हुँदा देशलाई घाटा हुने भन्दै सबै नेता–कार्यकर्ताले एकताबद्ध भएर एकीकरणलाई बचाउनुपर्ने लाइनमा छन् ।
अढाई वर्षदेखि कहिले साम्य हुँदै त कहिले उत्कर्षमा पुग्दै आएको नेकपाको विवाद पुनः एकपटक गम्भीर मोडमा पुगेको छ । यसअघिका विवादहरूभन्दा यो पटक अलि पृथक दृश्य देखिएको छ ।
हुन त पहिला पनि पार्टीभित्र एकअर्कालाई हटाउन हस्ताक्षरसम्म घटना भएकै हुन् । तर, शनिबारको छलफलमा ओलीले पार्टीको कुनै बैठक नबोलाउने र कुनै पनि निर्णय नमान्ने बताएपछि परिस्थिति गम्भीर बनेको हो ।
स्रोतका अनुसार शनिबारको भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई स्पष्टसँग भनेका छन् ‘म पार्टीको निर्णय मान्दिनँ, तपाईहरू जे गर्ने हो, गर्नुस् । बैठक पनि बोलाउँदिनँ, बैठक राख्नुभयो भने सहभागी बन्दिनँ र त्यो बैठकले गरेको निर्णय पनि मान्दिनँ ।’
ओलीलाई पूरै पाँच वर्ष शासन गर्ने दिने सहमति गरेपछि प्रचण्डले त्यसको क्षतिपूर्ती स्वरुप पार्टी, मन्त्रिमण्डल, प्रदेश र राजनीतिक नियुक्तिमा आफूले बढी सेयर पाउने अपेक्षा गरेका थिए ।
तर, प्रचण्डको अपेक्षालाई ओलीले लत्याइदिएका छन् । नेकपाभित्र चिरा परे सरकारमै धमिरा लाग्नेसम्मका संकेत देखिइसकेका छन् ।
ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको प्रचण्डको खुलासा
नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुटको सँघारमा पुगेको बताएका छन् । आइतबार आफ्नै निवास खुमलटारमा प्रचण्डले पार्टी फुटको नजिक पुगेको बिफ्रिङ गरेका हुन् ।
बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको खुलासा गरेका हुन् । भेलामा सहभागी एक सदस्यका अनुसार ओलीले पार्टी अलग–अलग तरिकाले अघि बढाउने प्रस्ताव प्रचण्डसमक्ष गरेका थिए । ओलीले सँगैसँगै अघि बढ्न नसक्ने भए छुट्टाछुट्टै पार्टी चलाउने प्रस्ताव प्रचण्डसमक्ष राखेका थिए ।
शनिबार ओली र प्रचण्डबीच बढ्दो विवादका विषयमा छलफल भए पनि सकारात्मक निष्कर्ष निस्किएन ।
आइतबारको भेलामा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा सहभागी थिए । उनीहरूले पार्टी फुटाउन नहुने पक्षमा मत राखेका छन् ।
केही दिनयता नेकपाभित्र कर्णाली विवाद, राजदूत नियुक्तिलगायतका विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एकलौटी निर्णय गरेको प्रचण्डले बताउँदै आएका छन् ।
पार्टी एकता गम्भीर संकटको मोडमा ः महासचिव पौडेल
नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा पुगेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पौडेलले पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत प्रश्न उठेको बताएका छन् ।
तर, नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले एकताको औचित्य खण्डत नहुने पनि उनले उल्लेख गरेका छन् । ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्दैन । तसर्थ, आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरूलाई अनुरोध गर्दछु ।’
दुई अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड) बीच देखिएको मतभेदकै कारण पार्टी एकता संकटमा परेकाले आफ्नो कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको महासचिव पौडेलले बताए । महासचिव पौडेलले राजनीतिक स्थायित्व सुनिश्चित गर्न, संविधानको प्रभावकारी कार्यान्वयन र ‘समृद्ध नेपाली, सुखी नेपाल’ को राष्ट्रिय आकांक्षा पूरा गर्दै समाजवादतर्फ अगाडि बढ्न पार्टी एकता भएको उल्लेख गरेका छन् । तर, अहिले एकताको औचित्वविपरीत पार्टी संकटतिर धकेलिएको उनले बताए ।
विभाजनकै डिलमा पुगेर अडिएको नेकपाले आगामी चैत अन्तिम साता एकताको महाधिवेशन गर्ने गरी गतिविधि अगाडि बढाउने निर्णय गरेको छ । तर, २६ भदौको स्थायी कमिटी बैठकको निर्णयअनुसार नेकपामा कुनै पनि काम हुन सकेको छैन । बरु, कात्तिक १५ बाट बोलाइएको केन्द्रीय कमिटी बैठक एक महिना पछाडि सारिएको छ ।