मुख्यसचिवमा बैरागी नियुक्त
सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले युवराज खतिवडालाई अमेरिका, निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा नियुक्त गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
अमेरिकाका लागि राजदूतमा सिफारिस खतिवडा ‘प्रोफेसनल करिअर’ धेरै लाभको पद पाउने पुग्नेमा परेका छन् । खतिवडाको करिअर नेपाल राष्ट्र बैंकको अधिकृतबाट सुरु भएको हो । उनलाई पूर्वएमाले सरकारले राष्ट्र बैंकमा गभर्नर नियुक्त गरेको थियो ।
गभर्नर नियुक्त हुनुअघि नै एकपटक र गभर्नर भएपछि एक पटक गरी खतिवडालाई पूर्वएमाले सरकारले दुईपटक राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।
एमालेले नै गत निर्वाचनपछि खतिवडालाई राष्ट्रिय सभा लगेको थियो ।
लामो समयदेखि प्रधानमन्त्री ओली निकट रहेर काम गरेका खतिवडालाई उनले पार्टीका धेरै सिनियर नेताका आकांक्षा पन्छाउँदै अर्थमन्त्री बनाएका थिए ।
खतिवडाको राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल सकिएपछि पनि ओलीले उनलाई अर्थमन्त्रीमा निरन्तरता दिए । सांसद नरहेपछि ६ महिना मात्रै मन्त्री बन्न पाउने संवैधानिक प्रावधानअनुसार खतिवडाले भदौ २० मा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
नेकपाको सचिवालयमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजानुपर्ने पक्षमा बहुमत पुगेपछि ओलीले खतिवडालाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए ।
मन्त्रिपरिषद्ले मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको छ । रेग्मीको कार्यकाल कात्तिक १० सम्म बाँकी थियो ।
राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ । त्यसका लागि संसद्ले चाँडै नै सुनुवाइ प्रक्रिया सुरु गर्नेछ ।
मुख्यसचिवमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ । परराष्ट्र सेवामा प्रवेश गरेर निरन्तर त्यही सेवामा काम गर्दै सचिव भएर मुख्यसचिवमा बढुवा हुने बैरागी पहिलो हुन् ।
मुख्यसचिवमा बैरागीको नियुक्तिसँगै निजामती क्षेत्रमा नयाँ बहस सतहमा आएको छ । के निरन्तर एउटै मन्त्रालयमा बिताएका व्यक्तिले समग्र सेवालाई सम्हाल्न सक्लान् ? के उनीसँग प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नका लागि चाहिने पर्याप्त अनुभव छ ?
किनकि मुख्यसचिव हुने व्यक्तिसँग दुर्गम भेगमा काम गरेको अनुभवदेखि प्रमुख जिल्ला अधिकारी र विभिन्न मन्त्रालयमा रहेर काम गरेको अनुभव हुन्छ ।
एक पूर्वपरराष्ट्रसचिव भन्छन्, ‘निश्चय नै परराष्ट्र सचिवलाई कर्मचारीतन्त्रको सबै नटबोल्ट थाहा नहुन सक्छ, जति अन्य मन्त्रालय लामो समय सम्हालेर आएकासँग हुन्छ ।’
बैरागीले सन् २०१४ मा नै कार्यवाहक परराष्ट्र सचिवको जिम्मा पाएका थिए ।ण् त्यसको एक वर्षपछि उनी सचिवमा नियुक्त भए । यस अवधिमा उनले प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग नजिकसँग काम गर्ने अवसर पाए ।
बैरागी अहिले सबै राजनीतिक दलका नेतालाई रिझाएर मुख्यसचिव बन्न सफल भएका छन् । बैरागी सन् १९८७ मा परराष्ट्र सेवामा प्रवेश गरेका हुन् ।
नेकपामा किचलो
सरकारले राजदूतलगायत महत्वपूर्ण नियुक्तिहरु एकलौटी ढंगले गरेको भन्दै सत्तारुढ नेकपामा असन्तुष्टि चुलिने देखिएको छ ।
राजनीतिक नियुक्तिहरु पार्टीको सल्लाह र सुझावका आधारमा गर्ने बैठकको निर्णय भए पनि त्यसलाई बेवास्ता गर्दै सरकारले राजदूतलगायत महत्वपूर्ण निकायमा नियुक्ति गरेपछि नेकपामा असन्तुष्टि बढ्ने संकेत देखिएको हो ।
पछिल्लो पटक बिहीबार सरकारले महत्वपूर्ण दुई देशका लागि राजदूत नियुक्ति गर्दा पार्टीसँग कुनै छलफल र सल्लाह नगरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
‘सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा सम्वैधानिक व्यवस्था, कानुनी प्रवन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्री परिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन तथा राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने’ स्थायी समिति बैठकले गरेको निर्णयमा भनिएको छ, ‘मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने ।’
सरकारले गरेको पछिल्लो नियुक्तिको विषयलाई लिएर नेताहरुले कार्यकारी अध्यक्ष प्रचण्डसँग छलफल गर्ने तयारी थालेका छन् ।







